वीरगञ्ज । बहुदरमाई नगरपालिका–१ का निवासी तथा जनता समाजवादी पार्टी (जसपा) का वडा कमिटी अध्यक्ष जटाशंकर यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।
रंगपुरस्थित एमाले सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, पर्सा–३ का प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डे र नेता हरीबाबु चौधरीले यादवलाई खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।
नगर प्रमुख सिगाशन साहको पहलमा सम्पन्न उक्त प्रवेश कार्यक्रमलाई एमालेले संगठन विस्तारको महत्वपूर्ण कदमको रूपमा लिएको छ। बहुदरमाईमा प्रभावशाली छवि बनाएका यादवको पार्टीमा प्रवेशले क्षेत्रीय सांगठनिक पकडलाई अझ मजबुत बनाउने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।
जटाशंकर यादवले पार्टी प्रवेशपछि एमालेको विकासमुखी दृष्टिकोण, राष्ट्रियता र समृद्धिको एजेन्डाबाट प्रभावित भएको बताएका छन्। उनले आगामी निर्वाचनमा रूपेश पाण्डेलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन्।
विश्लेषकहरूले यस प्रवेशलाई पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थनको संकेतका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय विभिन्न दलका स्थानीय नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरिरहेको र युवा नेतृत्वप्रति बढ्दो आकर्षणले उम्मेदवारको आधारलाई थप मजबुत बनाएको बताइएको छ।