×

वीरगञ्ज । करिब १५ वर्षसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा सक्रिय रूपमा आबद्ध रहँदै आएका युवा नेता संजिव मिश्राले पार्टी परित्यागको घोषणा गरेका छन्।

मिश्राले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै पार्टीसँगको आफ्नो लामो राजनीतिक यात्रा अन्त्य गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले जिल्ला कमिटी सदस्य, उप–सचिव तथा मधेश प्रदेश कमिटी सदस्यको हैसियतमा काम गर्ने अवसर पाएको उल्लेख गर्दै सो अवधिमा पार्टी, विचार र संगठनका लागि इमानदारीपूर्वक योगदान दिने प्रयास गरेको बताएका छन्।

तर समयको माग र आफ्नै राजनीतिक सोचअनुसार पार्टी परित्याग गर्ने निर्णयमा पुगेको उनले स्पष्ट पारेका छन्। “यो निर्णय सहज थिएन, तर आत्मसम्मान, विचार र आगामी यात्राको दिशालाई मध्यनजर गर्दै यो घोषणा गरिरहेको छु,” उनले लेखेका छन्।

मिश्राले आफ्नो राजनीतिक यात्रामा साथ, सहयोग, विश्वास र हौसला प्रदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा साथीहरूप्रति आभार व्यक्त गरेका छन्। आगामी दिनमा पनि सत्य, निष्ठा र जनताको हितलाई केन्द्रमा राखेर आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

Back to top