वीरगञ्ज । नेपाल र भारतका सुरक्षा अधिकारीहरूको शनिवार वीरगञ्जमा सम्पन्न सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि दुई देशबिचको सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा भएको बैठकमा निर्वाचनका बेला हुन सक्ने क्रस–बोर्डर अपराध रोक्न उच्च सतर्कता अपनाउने, सीमा क्षेत्रमा मदिराको खरिद–बिक्री तथा सेवन र नक्कली नोटको कारोबारमा कडा निगरानी बढाउने सहमति भएको छ ।
बैठकमा भारतीय पक्षले पहिलो पटक वीरगञ्ज हुँदै भारतको रक्सौल प्रवेश गर्ने सिर्सिया नदीमा भइरहेको जल प्रदूषणको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै नेपालबाट जाने पानीलाई वाटर ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरेर मात्र पठाउन नेपाली पक्षलाई आग्रह गरेको छ । यसअघिका बैठकहरूमा भारतीय पक्षले यो विषय उठाएको थिएन ।
यसैगरी, नेपाल–भारत सीमामा भइरहेको अतिक्रमण हटाउन पनि भारतीय पक्षले नेपाली पक्षसँग सहयोग मागेको छ ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा नेपालतर्फका सबै सुरक्षा निकायका अधिकारीहरू (नेपाली सेनाबाहेक) सहभागी थिए । भारतीय पक्षको नेतृत्व बिहारको पूर्वी चम्पारण जिल्लाका जिल्ला मजिस्ट्रेट सौरभ जोरवाल र पश्चिम चम्पारण जिल्लाका जिल्ला मजिस्ट्रेट धर्मेन्द्र कुमारले गरेका थिए ।
दुई देशबिच नियमित रूपमा हुने यो सीमा समन्वय बैठकले निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउने तथा सीमा क्षेत्रका दीर्घकालीन समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।