×

वीरगञ्ज । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका पूर्व मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी सरकारको कमान सभापति रवि लामिछानेलाई सुम्पिनुपर्ने माग राखेका छन् ।

आइतबार बिहानै सामाजिक सञ्जालमा आफ्नो विचार पोख्दै साम्पाङले सरकारको नेतृत्व बालेन भन्दा पनि रवि लामिछानेले गर्दा राम्रो हुने विचार अघि सारेका हुन् ।

“जनताले चुनिहालेपछि अब सबैले स्विकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो ! सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ ! नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैन,” उनले लेखेका छन् ।

निर्वाचन अघि नै रास्वपाले काठमाडौँका पूर्व मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो । उनी झापा – ५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित पनि भइसकेका छन् ।

यता, हर्क साम्पाङ पनि सुनसरी-१ मा मतान्तर बढाउँदै जितको नजिक पुगिसकेका छन् । मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय लडाइँमा होमिएका साम्पाङले पनि आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए ।

Back to top