वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को अन्तिम मतपरिणाम आइतबार सार्वजनिक भएको छ । मतपरिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवीन्द्र पटेलले ठुलो मतान्तरका साथ विजयी हासिल गरेका छन् ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहको परम्परागत गढ मानिएको क्षेत्रमा पटेलले साहलाई झन्डै साढे १७ हजार मतले पछि पार्दै जित हात पारेका हुन् ।
अन्तिम नतिजा अनुसार, पटेलले कुल २७ हजार ३१८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका गोविन्द चौधरीले ११ हजार ९४५ मत ल्याएका छन् । साह भने मात्र ९ हजार ८९० मतसहित तेस्रो स्थानमा सीमित भएका छन् ।
त्यस्तै अन्य उम्मेदवारहरूमा नेकपा (एमाले) का कुन्दन प्रसाद कुशवाहाले ६ हजार ६०५ मत, नेपाली काँग्रेसका रामकृपाल प्रसाद यादवले ६ हजार ४२० मत र नेकपा (माओवादी) की पुनम देवीले ३ हजार ८८१ मत प्राप्त गरेका छन् ।
परिणामले रौतहटको राजनीतिक परिदृश्यमा ठुलो परिवर्तन ल्याएको छ । साह रौतहट – ३ बाट विगतका चुनावहरूमा लगातार विजयी हुँदै आएको भए तापनि यस पटक आफ्नै गढमा पराजित भएका छन् । माओवादीबाट राजनीतिक जीवनको सुरुवात गरेका साहले पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएपछि नेकपा (एमाले) को ओली पक्षमा लागेका थिए । उनी रौतहट क्षेत्र नम्बर ३ बाट २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।
२०६४ को संविधानसभा निर्वाचनमा साहले ११ हजार ६२५ मत ल्याएर जित हासिल गरेका थिए भने २०७० मा १३ हजार ९ मतका साथ पुनः निर्वाचित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) को टिकेट लिएर रौतहट – ३ बाट विजयी भएका थिए ।
संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यका रूपमा साहले विभिन्न मन्त्रालयहरू पनि सम्हालेका छन् । साहले २०६८ मा झालनाथ खनालको मन्त्रिपरिषद्मा कानुन तथा संवैधानिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि २०७४ मा शेरबहादुर देउवाको सरकारमा सहरी विकास मन्त्री तथा भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्री बनेका थिए । ओली मन्त्रिपरिषद्मा पनि उनले सहरी विकास मन्त्रीको भूमिका निर्वाह गरेका थिए ।
गत प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा ३२ हजार ४३७ मत ल्याएर विजयी भएका साह यस पटकको चुनावमा नराम्रोसँग पराजित भएका छन् । परिणामले उनको राजनीतिक प्रभावमा कमी आएको सङ्केत गर्दछ ।