×

वीरगञ्ज । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट लगातार तीन चुनावमा पराजय भोगेपछि पनि आफूलाई राजनीतिमा सक्रिय राख्ने प्रतिबद्धता जनाएका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमाकान्त चौरसियासँग लज्जास्पद हारे बेहोरेका चौधरीले सामाजिक सञ्जाल मार्फत पराजित भए पनि आफ्नो राजनीतिक सक्रियता नघट्ने बताएका छन् ।

चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै लेखेका छन्, “म ढलेको मात्रै छु, मरेको छैन । राजनीतिक जीवनमा सधैँझैँ सक्रिय रहिरहनेछु र जनताको सेवामा समर्पित रहिरहनेछु । सकेसम्म देश र लोकतन्त्र दुवैलाई जोगाउने हो, तर देश नै सङ्कटमा पर्दा देश जोगाउने प्रथम दायित्व हुन्छ। नेपालको अवस्था अहिले यस्तै छ ।”

यद्यपि, संसदीय निर्वाचनमा लगातार तिन पटकको हार पश्चात् पनि राजनीतिमा सक्रिय रहने उनको घोषणाको पार्टीभित्रका युवा नेता र स्थानीय राजनीतिक विश्लेषकहरूले ‘अपरिपक्व’ र ‘जनमतको अपमान’ भन्दै आलोचना गरेका छन् ।

चौधरीको घोषणाले काँग्रेसभित्र नयाँ पुस्तालाई स्थान दिनुपर्ने बहसलाई थप बल पुर्‍याएको छ । पार्टीसँगै स्थानीय स्तरमा पनि उनको आलोचना भइरहेको छ । काँग्रेसका युवा नेताहरूले अब चौधरीजस्ता पुराना नेताहरूले सक्रिय राजनीतिबाट बिदाइ लिएर नयाँ पुस्ताका लागि स्थान खाली गर्नुपर्ने सुझाव दिएका छन् । नाम नखुलाउने सर्तमा एक नेताले भने, “कांग्रेसले केन्द्रीय स्तरमा नयाँ नेतृत्व पाइसकेको छ, तर स्थानीय स्तरमा साढे तीन दशकदेखि एउटै अनुहारलाई घुमाइरहनु पार्टीको लागि घातक छ । जनताले तीन पटक अस्वीकार गर्दा पनि जबरजस्ती सक्रिय रहने भन्नु जनमतको अपमान हो ।”

स्थानीय राजनीतिक विश्लेषकहरूले पनि चौधरीको भनाइलाई ‘अपरिपक्व’ ठहर्‍याएका छन् । पर्साका एक विश्लेषकका अनुसार, “लगातार तीन चुनावमा जनताबाट अस्वीकार गरिएपछि पनि राजनीतिमा सक्रिय रहन्छु भन्नु नेतृत्वको अभाव र दम्भको सङ्केत हो । चौधरीको इतिहास हेर्दा उनी चार पटक सांसद र दुई पटक मन्त्री भएता पनि पछिल्ला चुनावहरूमा उनको प्रभाव घट्दै गएको छ ।”

विगतका निर्वाचन नतिजा हेर्दा २०७९ मा पनि चौधरीले पर्सा-३ बाट नेकपा (एमाले)का राजकुमार गुप्तासँग हार बेहोरेका थिए । त्यसअघि २०७४ मा पनि तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका हरिनारायण प्रसाद रौनियारसँग पराजित भएका थिए ।

पर्सा – ३ का स्थानीय पनि चौधरीको पक्षमा छैनन् । पर्साका एक स्थानीयले भने, “जनताले उनलाई नरुचाएको स्पष्ट छ, तर पनि उनी राजनीतिमा टाँसिरहन खोज्नुहुन्छ । कांग्रेसले नयाँ अनुहारलाई अवसर दिनुपर्छ, नत्र पार्टीको भविष्य सङ्कटमा पर्न सक्छ ।”

Back to top