×

वीरगञ्ज । पर्सा जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणामले जनता समाजवादी पार्टी (जसपा) नेपालका केही शीर्ष नेताको जनाधारबारे नयाँ बहस सुरु गरेको छ ।

पूर्व मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी बसोबास गर्ने वीरगञ्ज महानगरपालिका–१३ तेजारथ टोल मुर्लीमा जसपा नेपालको चुनाव चिन्ह ‘छाता’ले जम्मा ३९ मत मात्र प्राप्त गरेको छ । पर्सा क्षेत्र नम्बर १ र २ सहित सबै क्षेत्रमा जित्ने दाबी गर्दै आएका गद्दीको आफ्नै वडामा आएको नतिजाले पार्टीभित्र समेत चर्चा चुलिएको छ ।

यसैबिच पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका जसपा नेपाल पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवको जमानत जफत भएको छ । गद्दीसँगै यादवको कमजोर मतपरिणामले दुवै नेताको जनाधारबारे प्रश्न उठेको चर्चा स्थानीय राजनीतिक वृत्तमा भइरहेको छ ।

यादव बसोबास गर्ने वीरगञ्ज महानगरपालिका–२८ मा पनि ‘छाता’ चुनाव चिन्हले जम्मा २५ मत मात्र प्राप्त गरेको बताइएको छ ।

पार्टीभित्रका केही नेताहरूका अनुसार मधेस प्रदेशका पूर्व मुख्यमन्त्री गद्दीमाथि लागेको भ्रष्टाचारसम्बन्धी आरोप र जिल्ला अध्यक्ष यादवको नेतृत्वका कारण पर्सामा जसपा नेपालको सङ्गठन कमजोर बनेको दाबी गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ मा जिल्ला कै प्रमुख दल बनेको जसपा नेपाल पर्सा अहिले कमजोर अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव बढिरहेका बेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि कमजोर बन्दै गएको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ । अध्यक्ष यादव आफै सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट पराजित भइसकेका छन् ।

पर्सालाई जसपा नेपालको बलियो गढ मानिँदै आए पनि अध्यक्ष यादव र पूर्व मुख्यमन्त्री गद्दीको नेतृत्वका कारण पार्टी सङ्गठन कमजोर भएको आरोप पार्टीभित्रै उठिरहेको बताइएको छ ।

यद्यपि, निर्वाचनमा हार–जित स्वाभाविक हुने भन्दै उम्मेदवार रामनरेश यादवले आफ्ना समर्थक र कार्यकर्तालाई ढाडस दिँदै आएको बताइएको छ ।

Back to top