एनपीएल टोली पोखरा एभेन्जर्सको पोष्टमा गरेको अनपेक्षित प्रतिक्रिया न्यूजिल्याण्डका क्रिकेट खेलाडी जिम्मी निसमले हटाएका छन्। आफ्नो तारिफ गर्दै पोखराले गरेको पोष्टमा निसमले अनपेक्षित प्रतिक्रिया जनाएका थिए।
आइतबार राति टी–२० विश्वकपमा भारतसँग पराजित भएको न्यूजिल्यान्डको टिमका सदस्य रहेका निसमले ‘खेलाडीहरुलाई पैसा तिर’ भन्दै कमेन्ट गरेका थिए। एभेन्जर्सले लेखेको थियो, ‘उनले पोखरा एभेन्जर्सका लागि खेलेकोमा हामीलाई गर्व छ। न्यूजिल्यान्ड उपविजेतामा सिमित हुनु दुर्भाग्यपूर्ण रह्यो।’ त्यसको कमेन्टमा निसमले जवाफ दिएका थिए, ‘कुल, पे योर प्लेयर्स’।
निसमले अहिले कमेन्ट हटाएका छन्। पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले निसमले कमेन्ट हटाएको जानकारी दिए। विश्वका चर्चित लिगहरु खेलेका निसमले एक्कासी किन कमेन्ट हटाए भन्नेबारे थप चासो बढेको छ।
एनपीएलमा आवद्ध हाइप्रोफाइल विदेशी खेलाडीहरुमध्ये एक निसमले पहिलो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्दै टिमलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए। दोस्रो संस्करणमा उनी पोखरा एभेन्जर्समा अन्तिम समयतिर अनुबन्धित भएका थिए। उनले एभेन्जर्सबाट सम्झौता बमोजिम ४ वटा खेलमात्र खेलेका थिए।
निसमले एनपीएलका लागि कुनै एड्भान्स रकम लिएका थिएनन्। नेपालमा राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएलगत्तै ५० प्रतिशत रकम भुक्तानी पठाउने र त्यसको २८ दिनभित्र बाँकी रकम पठाउने गरी सम्झौता भएको त्रिपाठीले जानकारी दिए। तर, राष्ट्रिय खेलकुद परिषद्बाट सिफारिस आउन ढिलाइ भएकाले अहिलेसम्म भुक्तानी हुन नसकेको उनको भनाई छ।