×

वीरगञ्ज । पर्साको पकहाँमैनपुर गाउँपालिकामा नेकपा (एमाले) को ठुलो झटका लागेको छ । गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कुमार साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनलाई साथ दिँदै गाउँपालिका कमिटीका सचिव राजेश सहनी र जिल्ला कमिटी सदस्य प्रमोद पटेलले पनि एमाले छोडेका छन् ।

बुधवार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै अध्यक्ष साहले आजका मितिदेखि आफू नेकपा (एमाले) को साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिएका छन् ।

उनले पार्टीभित्र विधि, पद्धति, सिद्धान्त र सङ्गठनात्मक मूल्य–मान्यताभन्दा माथि नातावाद, कृपावाद, व्यक्तिवाद तथा आर्थिक चलखेलको संस्कृति तीव्र रूपमा मौलाएको आरोप लगाएका छन् । पार्टीको मूल आदर्श, कार्यकर्ताको त्याग र योगदानलाई बेवास्ता गर्दै सीमित व्यक्तिहरूको स्वार्थ र गुटगत स्वार्थलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

 “म अकलेश कुमार साह, वीरगन्ज–पर्सा निवासी, वि.सं. २०७० सालदेखि नेकपा (एमाले) पार्टीमा सक्रिय रहँदै पकहाँमैनपुर गाउँपालिका कमिटी अध्यक्ष तथा अखिल नेपाल पिछडावर्ग महासङ्घको केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश इन्चार्ज लगायत विभिन्न जिम्मेवारीहरू इमानदारी, निष्ठा र समर्पणका साथ निर्वाह गर्दै आएको व्यक्ति हुँ । साथै मसँगै राजेश सहनी (गाउँपालिका कमिटी सचिव) र प्रमोद पटेल (जिल्ला कमिटी सदस्य) समेत पार्टीको विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आएका थियौँ,” उनले लेखेका छन् ।

उनले पार्टीभित्र इमानदार कार्यकर्तालाई उपेक्षा गर्ने, निर्णय प्रक्रियामा पारदर्शिता नअपनाउने तथा सङ्गठनलाई व्यक्तिगत स्वार्थको साधन बनाउने प्रवृत्तिले पार्टीको नैतिक आधार कमजोर बनाएको बताए । यस्तो विकृत अभ्यासलाई मौन समर्थन गर्न नसकिने भन्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

साहले आगामी दिनमा सत्य, पारदर्शिता, सामाजिक न्याय र जनताको हितका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

साहको पार्टी छोड्ने घोषणाले पर्सा जिल्लामा नेकपा (एमाले) को स्थानीय तहमा सङ्गठनात्मक कमजोरीलाई उजागर गरेको छ । हालसम्म पार्टी परित्याग गर्ने तीन नेताहरूले कुनै नयाँ दलमा प्रवेश गरेको खुलासा भएको छैन ।

Back to top