फाइल तस्बिर ।
वीरगञ्ज । पश्चिम एसियामा जारी अमेरिका-इरान द्वन्द्वले विश्व ऊर्जा बजारमा ठुलो अस्थिरता निम्त्याएको छ । कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड १०० डलरभन्दा माथि पुगेको अवस्थामा नेपालजस्ता आयात-निर्भर मुलुकहरूमा यसको प्रत्यक्ष असर देखिन थालेको छ ।
उद्योगीहरूका अनुसार पेट्रोलियम पदार्थ र सम्बन्धित कच्चा पदार्थको आपूर्ति अवरुद्ध तथा ढिलासुस्ती हुँदा देशभरका औद्योगिक कोरिडोर प्रभावित भएका छन् । उपलब्ध कच्चा पदार्थको मूल्य पनि उल्लेखनीय रूपमा बढेकाले उत्पादन लागतमा तीव्र वृद्धि भइरहेको छ । यसले बजारमा उपभोग्य वस्तुको मूल्य बढ्ने र उत्पादन घट्ने जोखिम बढाएको छ ।
खाद्यान्न, वनस्पति तेल, जुत्ता चप्पल, धागो-कपडा, सिमेन्ट तथा फलामजन्य सामग्री उत्पादन गर्ने उद्योगहरू सबैभन्दा बढी प्रभावित भएका छन् । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सम्भावनाबाहेक ढुवानी तथा प्याकेजिङमा प्रयोग हुने प्लास्टिक दानाको अभाव र मूल्यवृद्धिले लागत थप बढाएको छ ।
केही उद्योगहरूले उत्पादन ४० प्रतिशतसम्म कटौती गरिसकेका छन् । पुराना एलसी (लेटर अफ क्रेडिट) मार्फत आउने सामग्री ढिला हुँदा र नयाँ आयात कठिन बन्दा समस्या थपिएको छ । सिमेन्ट उद्योगमा बोरा महँगिएको छ भने फलामजन्य सामग्रीमा ढुवानी खर्च बढ्दा प्रतिकिलो करिब ३ रुपैयाँ मूल्य वृद्धि भइसकेको उद्योगीहरूले बताएका छन् । लोड भइसकेका जहाजमा समेत प्रतिटन ३०० डलरसम्म अतिरिक्त लागत थपिएको छ ।
प्लास्टिक उद्योगहरूले उत्पादन ४० प्रतिशतमा झारेका छन् । युद्धअघि प्रतिटन करिब ९०० अमेरिकी डलरमा पाइने एचडीपीई र पीपी दाना अहिले १,२५० डलरसम्म पुगेको छ । यसले प्लास्टिक भाँडाकुँडा, खेलौना, फर्निचर, त्रिपाल, बोरा, पाइप, पेट बोतल, प्याकेजिङ सामग्री तथा जुत्ता चप्पल उत्पादनमा ठुलो असर पारेको छ ।
वनस्पति तेल उद्योग पनि प्रभावित छ । भटमासको कच्चा तेल प्रतिटन १,२२० डलरबाट बढेर १,२८० डलर पुगेको छ भने सूर्यमुखी तेल १,४०० बाट १,५२० डलरसम्म बढेको छ । निर्यातमुखी जुत्ता चप्पल उद्योगमा प्रयोग हुने इभा (इथिलिन भिनाइल एसिटेट) को मूल्य १,१५० बाट १,६०० डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य युद्ध सुरु भएयता तीव्र बढेको छ । फेब्रुअरी अन्त्यमा द्वन्द्व सुरु भएपछि ब्रेन्ट क्रुड १०० डलर नाघेको र हाल करिब १०२/१०३ डलर आसपासमा कारोबार भइरहेको विभिन्न रिपोर्टहरूले देखाउँछन् । यसले नेपालजस्ता पूर्ण रूपमा आयातमा निर्भर मुलुकहरूलाई गम्भीर आर्थिक दबाबमा पारेको छ ।
कच्चा पदार्थको आपूर्ति छिट्टै सहज नभए उत्पादन थप घट्ने र बजारमा वस्तु अभाव तथा तीव्र मूल्यवृद्धि देखिने उद्योगीहरूले चेतावनी दिएका छन् । नेपाल आयल निगमले पनि अन्तर्राष्ट्रिय मूल्यवृद्धिका कारण पेट्रोल, डिजेल तथा अन्य इन्धनको मूल्य समायोजन गरिरहेको कारण उपभोक्ता स्तरमा थप भार पर्ने देखिन्छ ।
द्वन्द्वले विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध सिर्जना गरेको छ । नेपाल सरकार तथा सम्बन्धित निकायले वैकल्पिक आपूर्ति स्रोत खोजी तथा मूल्य स्थिरीकरण कोषको प्रयोग गरी प्रभाव कम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।