वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद सुशील कुमार कानुले नारायणी अस्पतालमा विद्यमान बिचौलिया र दलालहरूको बिगबिगीप्रति चिन्ता व्यक्त गर्दै तत्काल कडा कारबाही गर्न प्रमुख जिल्ला अधिकारी भोला दाहालको ध्यानाकर्षण गराएका छन् ।
मङ्गलवार प्रमुख जिल्ला अधिकारी दाहालको कार्यकक्षमा भएको भेटमा सांसद कानुले अस्पताल परिसरमा दलाल तथा बिचौलियाको सक्रियता बढ्दै गएको, डाक्टरहरूले कमिसनको लोभमा बिरामीलाई निजी अस्पतालमा रेफर गर्ने प्रवृत्ति मौलाएको र एम्बुलेन्स चालक मार्फत बिरामी प्रभावित पार्ने गतिविधि भइरहेको बताए ।
“बिरामीहरू प्रत्यक्ष मारमा परिरहेका छन् । यस्ता गैर कानुनी कार्य तत्काल रोक्न कडा कदम चाल्नुपर्छ,” सांसद कानुले भने ।
उनले सरकारी अस्पतालमा चिकित्सकहरू समयमा नआउने, पूरा ड्युटी अवधिभर नबस्ने जस्ता लापरबाहीले सेवाग्राही मारमा परेको बताउँदै नियमित अनुगमन र कडाइ गर्न आवश्यक रहेको औँल्याए ।
सांसद कानुले छठ पर्वका बेला छठ घाट वरपर माछा–मासु बिक्री भइरहेकोप्रति समेत आपत्ति जनाए । उनले धार्मिक आस्था र सामाजिक सद्भावलाई सम्मान गर्दै हरेक वर्ष छठ पर्वका समयमा यस्ता गतिविधि तत्काल बन्द गराउन माग गरे ।
यसैगरी गर्मी मौसममा बढ्ने आगलागी तथा अन्य विपद् व्यवस्थापनका लागि दमकल, पानीको स्रोत, उद्धार टोली र आवश्यक उपकरणको पर्याप्त तयारी गर्नुपर्नेमा समेत सांसद कानुले जोड दिए ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले सांसद कानुद्वारा उठाइएका सबै विषयप्रति आफू सकारात्मक रहेको बताउँदै आवश्यक अनुगमन, समन्वय र कारबाही अगाडि बढाइने प्रतिबद्धता जनाए ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेल, मुरली जलान, रास्वपाका क्षेत्रीय सभापति फैयाज मियाँ, प्रकाश साह लगायतको उपस्थिति थियो ।