×

वीरगञ्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत १९ गतेदेखि सुरु हुने भएको छ । गत २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण यस वर्षको परीक्षा गत वर्षको तुलनामा १२ दिन ढिलो गरी सञ्चालन हुन लागेको हो । गत वर्ष चैत ७ गतेदेखि सुरु भएको एसइई यस वर्ष चैत १९ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष कुल ५ लाख १० हजार विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले परीक्षा दिएका थिए । यस वर्ष गत वर्षको तुलनामा करिब ४ हजार विद्यार्थी घटेका छन् । परीक्षार्थीमध्ये ६३ हजार जना एक्जाम्टेड रहेका छन् भने जापानबाट २३ जना विद्यार्थीले पनि यस वर्ष एसइई दिने भएका छन् । कुल परीक्षार्थीमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्र रहेका छन् ।

बोर्डले एसइईका लागि देशभर १९ सय ९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । प्रश्न पत्र ७७ वटै जिल्लामा पुगिसकेको छ र सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्न पत्र तथा उत्तर पुस्तिका सुरक्षित रूपमा पुर्‍याइएको छ । परीक्षालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार ५ सय सुरक्षाकर्मी खटाउने भएको छ ।

परीक्षा तालिकाअनुसार पहिलो दिन चैत १९ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । चैत २० गते अनिवार्य नेपाली, चैत २२ गते अनिवार्य गणित र चैत २३ गते संस्कृति तथा वेद विद्याश्रमतर्फका विषयको परीक्षा सञ्चालन हुनेछ । त्यसैगरी चैत २४ देखि २९ गतेसम्म प्राविधिक धारतर्फका पुरानो र नयाँ पाठ्यक्रममा आधारित विषयहरूको परीक्षा हुनेछ ।

एसइई परीक्षा सम्पन्न भए लगत्तै देशका अधिकांश जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा उत्तर पुस्तिका परीक्षण कार्य सुरु गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले तय गरेको वार्षिक कार्यतालिकाअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएको छ । बोर्डका अनुसार आगामी असारको तेस्रो साता एसइईको नतिजा सार्वजनिक गरिने छ ।

Back to top