वीरगञ्ज । नेपाल प्रहरीले १६ वर्षीय बालिका इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
सुर्खेत प्रहरीका अनुसार घटनाको अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको हो ।
सुर्खेत प्रहरीका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार ‘आरोपितहरूको बयान र प्राप्त प्रमाणका आधारमा प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको हो ।’
घटनासँग सम्बन्धित केही प्राविधिक रिपोर्टहरू प्राप्त भइसकेको र केही आउने क्रममै रहेको पनि बुढथापाले जानकारी दिए ।
इनिशा घटनाको छानबिनका लागि सुर्खेत आएको सिआइबीको टोली अनुसन्धान सकेर आइतबार नै काठमाडौँ फर्किएको छ ।
सुर्खेतको गुर्भाकोट–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१, बस्दै आएकी १६ वर्षकी इनिशाको गत फागुन २३ गते वीरेन्द्रनगर बजारमा ज्यान गुमेको थियो ।