×

वीरगञ्ज । नेपालको औद्योगिक तथा सामाजिक क्षेत्रमा सक्रिय उद्यमी डा. सुबोध कुमार गुप्ताले नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी निर्वाचनमा कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

निजी क्षेत्रको आवाजलाई प्रभावकारी रूपमा उठाउँदै आएका गुप्ताको उम्मेदवारीलाई व्यवसायी वृत्तमा महत्वका साथ हेरिएको छ ।

मोहित ग्रुपका अध्यक्षसमेत रहेका गुप्ताले मोहित एग्रो इन्डस्ट्रिज, मोहित पल्सेस, मोहित फूड प्रोडक्ट्स र मोहित ग्रीन फिल्ड्समार्फत औद्योगिक विस्तारसँगै हजारौँलाई रोजगारी उपलब्ध गराएका छन् ।

खाद्यान्न उत्पादनमा आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्यसहित उनले उद्योग क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन् ।

सामाजिक सेवामा समेत सक्रिय गुप्ताले पोखरिया अस्पतालमा ३५ बेडको आइसियु कक्ष तथा नारायणी अस्पतालमा ३५ बेडको पिआइसियु कक्ष निर्माणमा सहयोग पुर्‍याउनुका साथै कोभिड–१९ महामारीका बेला स्वास्थ्य उपकरण उपलब्ध गराएका थिए ।

साथै, वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभा हल निर्माणमा समेत उनको योगदान उल्लेखनीय छ । स्वास्थ्य र सामाजिक सेवामा पुर्‍याएको योगदानका लागि उनी ‘प्रवल जनसेवा श्री पदक’ सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भइसकेका छन् ।

शिक्षा क्षेत्रमा पनि सक्रिय गुप्ता ठाकुरराम क्याम्पसको व्यवस्थापन समितिमा आबद्ध हुनुहुन्छ भने अन्तर्राष्ट्रिय स्तरको नेतृत्व सम्बन्धी पिएचडी सम्मान प्राप्त गरेका छन् ।

नेपाल चामल, दाल तथा तेल उद्योग सङ्घका निवर्तमान अध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा मधेस विश्वविद्यालयका सिनेट सदस्यसमेत रहिसकेका गुप्ता हाल महासङ्घको कार्यकारिणी सदस्य र व्यापार समितिको सभापतिका रूपमा कार्यरत छन् ।

सधैँ व्यवसायीका हकहितका सवालमा स्पष्ट र दृढ रूपमा प्रस्तुत हुँदै आएका गुप्ताले निजी क्षेत्रमैत्री नीतिको वकालत गर्दै आएका छन् ।

आगामी निर्वाचनमार्फत सक्षम, दूरदर्शी र उत्तरदायी नेतृत्व स्थापित गर्ने उद्देश्यसहित उनले उम्मेदवारी दिएको बताइएको छ ।

Back to top