×

वीरगञ्ज । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । पूर्व सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

गत शनिवार काँग्रेस नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले त्यसलाई गम्भीर रूपमा लिएको जनाएको थियो ।

विशेष महाधिवेशनबाट काँग्रेस सभापति गगन थापा चुनिएको र त्यसलाई निर्वाचन आयोगले समेत मान्यता दिइसकेको अवस्थामा देउवा समूहका खड्काले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति जारी गरेपछि उनको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा समेत छलफल भएको थियो ।

मङ्गलवार फेरी खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएपछि काँग्रेस रुष्ट छ ।

खड्काले चैत १९ गते जिल्ला सभापतिको भेला समेत बोलाएका छन् । त्यसैले यिनै विषयहरूमा आज अनुशासन समितिमा छलफल गर्न लागेको एक नेताले जानकारी दिए ।

Back to top