×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्साको सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेस (प्रतिनिधि) मार्फत मुद्दा लड्न पाउने भएका छन् ।

बुधवार लामिछाने पर्सा जिल्ला अदालत आएर मुद्दामा तारेख बुझेका थिए । सोही क्रममा उनले अदालतमा वारेस राख्न अनुमति मागेका थिए ।

बिहीबार जिल्ला न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले लामिछानेको निवेदन स्वीकृत गर्दै वारेस राख्न पाउने आदेश दिएको छ । अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, लामिछानेले अब पर्सा नआएर वारेसमार्फत मुद्दा लड्न सक्ने भएका छन् ।

लामिछानेविरुद्ध पर्सा अदालतमा ‘सहकारी ठगी र सङ्गठित अपराध’ सम्बन्धी मुद्दा विचाराधीन छ । उनको अर्को पेसी तारेख ०८३ वैशाख २४ का लागि तोकिएको छ ।

चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित रास्वपा सभापति लामिछानेले अब वारेस मार्फत अदालतमा उपस्थित भई मुद्दा अघि बढाउन सक्ने भएका छन् ।

Back to top