वीरगञ्ज । सुधन गुरुङ ले सीमापार तस्करी नियन्त्रण र भन्सार प्रणाली सुधारका विषयमा मधेससहित दुई प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।
आयोजित छलफलमा गृहमन्त्री गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदहरूसँग सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा भन्सार प्रणाली सुधारका उपायबारे सुझाव लिएका हुन्।
छलफलका क्रममा सांसदहरूले विद्यमान भन्सार प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै भन्सार दर पुनरावलोकन गर्नुपर्ने, सीमामा निगरानी तथा अनुगमन संयन्त्रलाई सुदृढ बनाउनुपर्ने सुझाव दिएका थिए। साथै, कृषि सामग्री र मलखादको भन्सार प्रक्रिया सरल बनाउनुपर्ने तथा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य वस्तु आयातमा निश्चित हदसम्म भन्सार छुट दिने मापदण्ड बनाउनुपर्ने प्रस्ताव पनि उठाइएको थियो।
मधेश प्रदेशका जनप्रतिनिधिहरूले विशेषगरी सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि प्रभावकारी संयन्त्र विकास गर्नुपर्नेमा जोड दिएका थिए।
छलफलमा उठेका विषयप्रति प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित विषयहरू कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित मुद्दामा आवश्यक समन्वयमार्फत समाधान खोजिने बताएका छन्।