×

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसिया भ्रष्टाचार मुद्दाका प्रतिवादी डा. सुरेन्द्र प्रसाद चौरसियासँग सार्वजनिक कार्यक्रममा देखिएपछि विवादमा तानिएका छन् ।

गत वैशाख ५ गते काठमाडौँमा चौरसिया समाजले आयोजना गरेको कार्यक्रममा उनीहरू सँगै देखिएका थिए । उक्त घटनापछि राजनीतिक तथा सामाजिक वृत्तमा विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन् ।

विशेषगरी ‘शून्य भ्रष्टाचार’ को नारा अघि सारेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नै भ्रष्टाचार आरोपित व्यक्तिसँग देखिनुले पार्टीको नीतिगत प्रतिबद्धतामाथि प्रश्न उठेको टिप्पणी हुन थालेको छ । सामाजिक सञ्जालदेखि राजनीतिक बहससम्म यस विषयले स्थान पाएको छ ।

यसैबिच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन महानिर्देशक डा. सङ्गीता कौशल मिश्र, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसियासहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

अख्तियारका अनुसार स्वास्थ्य सेवा विभागअन्तर्गत ‘प्रोक्युरमेन्ट अफ म्यामोग्राफी मेसिन’ खरिद प्रक्रियामा म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालिसँग मिलेमतो गरी लागत अनुमानदेखि भुक्तानीसम्मका चरणमा अनियमितता गरिएको थियो । १२ करोड ७५ लाख रुपैयाँको लागत अनुमान तयार पार्दा नै ठेकेदार कम्पनीसँग मिलेमतो भएको र स्पेसिफिकेसनसमेत प्रभावित पारिएको आरोप छ ।

सांसद र भ्रष्टाचार मुद्दाका प्रतिवादीबिचको सार्वजनिक उपस्थितिले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। सरोकारवालाहरूले यस विषयमा सम्बन्धित पक्षबाट स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।

Back to top