×

वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेस र नेपाल–भारत सीमा क्षेत्रमा व्याप्त अशान्ति र सर्वसाधारणमाथि भइरहेको दुव्र्यवहारप्रति चिन्ता व्यक्त गरेका छन्। 

सीमा नाकामा सर्वसाधारणले भोग्नुपरेको सास्ती र राज्यको उदासिनताले गर्दा आफूहरू ‘विद्रोहको नजिक’ पुगेको चेतावनीसमेत उनले दिए। अध्यक्ष ठाकुरले सीमा क्षेत्रका भन्सार र सुरक्षाकर्मीहरूले ‘तजबिजी अधिकार’ (स्वविवेकिय अधिकार) को दुरुपयोग गरी सर्वसाधारणलाई दुःख दिने गरेको बताए।

कानून स्पष्ट नहुँदा हाकिमहरूको तजबिजी चल्ने र त्यसले भ्रष्टाचार तथा सास्ती बढाएको उनको आरोप छ। विगतमा काम र खाद्यान्नका लागि मानिसहरू नेपाल आउने गरेको स्मरण गर्दै ठाकुरले अहिले स्थिति उल्टो भएको बताए। सीमा सुरक्षाका नाममा महिलाहरू सबैभन्दा बढी प्रताडित भइरहेको भन्दै उनले आक्रोश व्यक्त गरे।

नेपाल र भारतबीचको ‘रोटी–बेटी’ को सम्बन्धमा राज्यले कठोर व्यवहार देखाएकोमा उनले आपत्ति जनाए। विवाहका गाडीहरूलाई रोक लगाउने र जन्ती–बरीतलाई पैदल हिँडाउन बाध्य पार्ने कार्यले दुई देशको सांस्कृतिक वातावरण बिगारिरहेको उनको तर्क छ।

वर्तमान सरकारलाई ‘हेलिकप्टर सरकार’ को संज्ञा दिँदै उनले राजधानीमा बस्ने मन्त्रीहरूलाई मधेसको भुइँमान्छेको पीडा थाहै नभएको बताए। अध्यक्ष ठाकुरले मधेसका बुद्धिजीवी र मिडियाले अहिले बिस्तारै आँखा खोल्न थालेको भएपनि सत्ताले मधेसको आवाजलाई अझै बेवास्ता गरिरहेको गुनासो गरे।

Back to top