वीरगञ्ज । पर्साको राजनीतिक तथा प्रशासनिक वृत्तमा सनसनीपूर्ण घटनाक्रम सार्वजनिक भएको छ। जिल्ला समन्वय समिति पर्सा का बहालवाला सभापति निरञ्जन प्रसाद सोनार (अजय) सहित एकै परिवारका पाँच जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दामा पक्राउ अनुमति पत्र जारी भएको छ।
पर्सा जिल्ला अदालत ले मिति २०८३/०१/०७ मा जिल्ला प्रहरी कार्यालय पर्सा का नाममा पक्राउ पुर्जी जारी गर्दै उनीहरूलाई तत्काल नियन्त्रणमा लिन आदेश दिएको हो। तर आदेश जारी भएको चार दिन बितिसक्दा पनि अभियुक्तहरू पक्राउ नपरेको र सहरमै खुलेआम हिँडिरहेको आरोप लागेको छ।
अदालतले सभापति सोनारसँगै त्रिलोकी साह सोनार, सन्तोष उर्फ सुमु प्रसाद सोनार, उत्तम उर्फ दिवस सराफ र महेश उर्फ महेश्वर सराफलाई पनि पक्राउ गर्न अनुमति दिएको छ।
रामबाबु साह सोनारको जाहेरीमा दर्ता भएको ‘ज्यान मार्ने उद्योग’ मुद्दामा उनीहरूको संलग्नता देखिएको भन्दै अदालतले तत्काल पक्राउ नगरे प्रमाण नष्ट हुन सक्ने तथा अभियुक्त फरार हुन सक्ने जोखिम औंल्याएको छ।
पीडित पक्षका अनुसार अदालतको आदेश कार्यान्वयनमा ढिलाइ हुनु र अभियुक्तहरू अझै पक्राउ नपर्नुले कानुनी शासनमाथि प्रश्न उठाएको छ। यद्यपि जिल्ला प्रहरी कार्यालय पर्सा ले अभियुक्तहरूको खोजतलास जारी रहेको जनाएको छ।
यसैबीच सभापति सोनारले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम मुछिएको दाबी गरेका छन्। “म घटनामा संलग्न छैन, राजनीतिक रिसइबीका कारण मेरो नाम जोडिएको हो,” उनले भने। साथै, पीडित पक्षले पनि आफू घटनामा संलग्न नरहेको विभिन्न सञ्चार माध्यममार्फत बताइसकेको उनले दाबी गरेका छन्। सोनारले भने म भागेको छैन जिल्ला समन्वय समिति पर्सा कार्यलयमा नै बसि आफनो काम गर्दै छु प्रहरीले बोलाए जान तैयार छु ।