×

वीरगञ्ज । नेपाली कांग्रेस को केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ।

वीरगञ्ज–२४ रामगढवास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस पर्सा ले अभियानको सुरुवात गरेको हो। कार्यक्रम जिल्ला सभापति तथा मधेस प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री को अध्यक्षता तथा पूर्वमन्त्री रमेश रिजाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा पूर्वमन्त्रीहरू सुरेन्द्र चौधरी, अजय चौरसिया, मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, पार्टीका जिल्ला सचिव तथा वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायत नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

पार्टी संगठनलाई आधार तहसम्म सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालन गरिएको ‘एक महिने जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण तथा नागरिक संवाद कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।

कांग्रेसका महामन्त्री प्रदीप पौडेल का अनुसार वैशाख महिनाभर चल्ने यस अभियानमार्फत डिजिटल प्रणाली प्रयोग गरी सदस्यता अद्यावधिक गरिनेछ। उनले ‘जरा अभियान’ को अर्थ पार्टीलाई पुनः गाउँ–टोलसम्म पु¥याउनु भएको उल्लेख गर्दै सदस्यता अद्यावधिकका लागि सम्बन्धित स्थानमै पुग्नुपर्ने व्यवस्था गरिएको बताए।

हाल कांग्रेसका देशभर ८ लाख ६३ हजार क्रियाशील सदस्य रहेकामा करिब एक लाख सदस्यको फोन नम्बर अभिलेखमा नरहेको तथा धेरै नम्बर दोहोरिएका वा त्रुटिपूर्ण रहेको तथ्यांक छ। अद्यावधिकका क्रममा सम्बन्धित स्थानमै पुगेर फोटो खिच्ने र मोबाइल नम्बर अनिवार्य राखिने व्यवस्था गरिएको जनाइएको छ।

Back to top