वीरगञ्ज । प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२४ स्थित रामगढवाबाट अपहरण तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार घर भएका ३० वर्षीय विकाश शर्मा रहेका छन्। अदालतले उनलाई उक्त मुद्दामा २५ वर्ष कैद सजाय सुनाएको थियो।
प्रहरीका अनुसार शर्मा २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए। लामो समयदेखि फरार सूचीमा रहेका उनलाई विशेष सूचनाका आधारमा आइतबार वीरगञ्जबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका शर्मालाई आवश्यक प्रक्रिया पूरा गरी पुनः कारागार चलान गर्ने तयारी भइरहेको छ।
प्रहरीले फरार अपराधीविरुद्ध खोजी अभियानलाई अझ सशक्त बनाउँदै लैजाने जनाएको छ।