फाइल तस्बिर ।
वीरगञ्ज । सरकारले संसद् अधिवेशन स्थगित गरेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको नेतृत्वमा विपक्षी दलहरू एकजुट हुने भएका छन् ।
नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज मध्याह्न १२ बजे सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएका छन् ।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरूलाई बोलाइएको छ ।
बैठकमा सरकारको अलोकतान्त्रिक कदमप्रति संयुक्त प्रतिवाद रणनीति तय गर्नेबारे छलफल हुने बताइएको छ ।
मंगलबार मात्रै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइएका दुवै अध्यादेश सार्वजनिक भएपछि यो विषय बाहिर आएको हो । सरकारले सोमबार मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय गरेको भएता पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमा यसबारे कुनै जानकारी दिएका थिएनन् ।
प्रमुख प्रतिपक्षी नेता भीष्मराज आङ्देम्बेले संसद्लाई मिचेर सरकारको अध्यादेश ल्याउने कदमलाई अलोकतान्त्रिक, बलमिच्याइँको राजनीति र सार्वभौम संसद्को अपमान भएको ठहर गरेका छन् । “लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद् र संविधानको मर्म मिच्न र उपेक्षा गर्न कुनै हालतमा पनि प्रतिपक्ष प्रतिबद्ध छैन,” उनले भने ।
दुई तिहाइ नजिकको बहुमत रहेको सरकारले किन संसद् छलेर अध्यादेशको बाटो रोज्यो भन्दै आङ्देम्बेले प्रश्न गरेका छन् । उनले भने, “आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास ?”
सरकारले ल्याएका दुवै अध्यादेशप्रति नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत कडा विरोध जनाएका छन् ।
विपक्षी दलहरूले आजको बैठकबाट सरकारको कदमविरुद्ध संयुक्त रूपमा अगाडि बढ्ने रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।