वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले आफ्नै दलको नेतृत्वमा रहेको सरकारले ल्याएको अध्यादेशको आलोचना गरेका छन् ।
संसद् छलेर अध्यादेश ल्याइएको भन्दै कार्कीले झन्डै दुई तिहाइ बहुमत भएको सरकारले पनि अधिवेशन रोकेर अध्यादेश ल्याउनुपर्ने अवस्थालाई 'बहादुरी' नभएको टिप्पणी गरेका छन् ।
“झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन,” उनले भनेका छन् ।
कार्कीले अध्यादेश ल्याउने प्रक्रिया संविधानले दिएको अधिकार भएको बताउँदै पनि यस पटकको सिफारिस संविधानको अक्षरमा आधारित रहेको तर मर्ममा नभएको बताएका छन् । उनले संविधानलाई मात्र अक्षरले बाँच्ने दस्ताबेज नभई मर्मको पालनाबाट जीवन्त रहने बताएका छन् ।
“संविधान अक्षरले बाँच्ने दस्ताबेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस्,” उनको भनाइ छ ।
सांसद कार्कीले विपक्षी दलले अध्यादेश ल्याउँदा आफूले उठाएका प्रश्नहरू अहिले पनि जीवित रहेको स्मरण गराउँदै आफ्नै सरकारले गर्दा पनि त्यही प्रश्न उठाउनु विधि र जबाफदेहिताको अपेक्षा भएको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “सरकारले ल्याएको अध्यादेशको बारेमा मेरो धारणा माग्दै र मौनतामा मलाई नै प्रश्न गर्दै मेन्सन, म्यासेज गर्ने सबै साथीहरूप्रति मलाई गौरव छ ।”
कार्कीको अभिव्यक्ति रास्वपा नेतृत्वको सरकारले संसद् अधिवेशन स्थगित गरेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने अध्यादेशसँग सम्बन्धित छ । उनले विधिको शासन र संवैधानिक मर्मको पालना गर्नुपर्नेमा जोड दिएका छन् ।