वीरगञ्ज । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले संसद् र नागरिक दुवैलाई हेपेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सर्लाहीका मतदातासँग भेटघाट गर्न जाने क्रममा चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका हुन् ।
उनले सरकारलाई आफ्नै बहुमत भएको सदनप्रति समेत विश्वास नरहेको आरोप लगाए । “संसद्को मिति तोकेर आह्वान भइसकेको अवस्थामा कुनै सूचना नदिई बैठक स्थगित गरिनु गैरजिम्मेवारीपन हो,” उनले भने ।
संसद् छल्दै अध्यादेश ल्याउने तयारीप्रति लक्षित गर्दै उनले नागरिकलाई जानकारी नदिने प्रवृत्तिको आलोचना गरे । सांसदहरूको आग्रहमा बैठक स्थगित गरिएको भनेर गरिएको प्रचारलाई उनले “भ्रामक र सरासर ढाँटेको” टिप्पणी गरे ।
संवैधानिक परिषद्को बनोटबारे चर्चा गर्दै थापाले सरकार एकलौटी ढङ्गले अघि बढ्न खोजेको आरोप लगाए । उनले प्रतिपक्षसँग छलफल नगरी निर्णय लिन खोजिएको भन्दै असन्तुष्टि जनाए ।
थापाले शासकीय सुधारका काममा सहयोग गर्न काँग्रेस तयार रहेको उल्लेख गर्दै संसद् र अन्य दललाई बेवास्ता गरेर अघि बढ्ने प्रवृत्तिविरुद्ध चुप नबस्ने चेतावनी दिए ।
गत निर्वाचनमा सर्लाही–४ बाट पराजित भएपछि उनी पहिलो पटक मतदातालाई धन्यवाद दिन तथा स्थानीय अवस्था बुझ्न सर्लाही पुगेका हुन् । उनले दिनभर विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ ।