×

वीरगञ्ज । सरकारले थप अर्को अध्यादेश राष्ट्रपति कार्यालय पुर्‍याएको छ ।

गए राति राष्ट्रपति कार्यालय पुर्‍याइएको अध्यादेशसँगै अहिलेसम्म सरकारले तयारी गरेको अध्यादेशको सङ्ख्या ७ पुगेको छ । राष्ट्रपति कार्यालय पुर्‍याएको पछिल्लो अध्यादेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सञ्चालन तथा नियुक्तिसम्बन्धी रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

यसअघि राष्ट्रपति कार्यालय पुगेका ६ अध्यादेशमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, सहकारी ऐन संशोधन अध्यादेश, विश्वविद्यालयसम्बन्धी अध्यादेश, केही नेपाल ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश र सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश छन् ।

सरकारले पठाएका अध्यादेशबारे थप अध्ययन एवं राय लिन राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहीबार ४ बजे शीतल निवासमा केही कानुनविद्हरूलाई समेत बोलाएका छन् ।

संसद्को अधिवेशन रोकेर संसद्को बाटो छली सरकारले ल्याउन लागेका अध्यादेशप्रति विपक्षी दलहरूले विरोध गरेका छन् भने राष्ट्रपतिलाई कुनै हालतमा ती अध्यादेश जारी नगर्न आग्रह गरिसकेका छन् ।

यता सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै कतिपय सांसदहरूले समेत दुई तिहाइ नजिकको सरकारले अध्यादेश ल्याउने काम कुनै बहादुरी नभएको टिप्पणी गरेका छन् ।

Back to top