एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । नेपालमा नयाँ सरकार गठनपछि सीमावर्ती क्षेत्रमा देखिएको उत्साहबिच सरकारले लागू गरेको नयाँ भन्सार नियमले सीमावर्ती भारतीय व्यापारिक क्षेत्रलाई चिन्तित बनाएको छ । विशेषगरी बिहारको मुजफ्फरपुरको ऐतिहासिक सूतापट्टी मन्डीमा नेपाल सरकारको नयाँ मितिको प्रत्यक्ष असर देखिन थालेको छ ।
वैशाखदेखि सुरु हुने विवाह–व्रतबन्ध जस्ता मौसम कपडा तथा गहना व्यवसायका लागि सबैभन्दा महत्त्वपूर्ण समय मानिन्छ । प्रत्येक वर्ष यस अवधिमा सूतापट्टी मन्डीमा करिब ४ सय देखि ५ सय करोड रुपैयाँसम्मको कारोबार हुने गरेको अनुमान छ । कारोबारको ठूलो भाग नेपाली ग्राहकबाट आउने गर्दछ । यद्यपि, यस वर्ष नयाँ कर नीतिका कारण करिब ३ सय करोड रुपैयाँसम्मको कारोबार प्रभावित हुने अनुमान गरिएको छ ।
नेपाल सरकारले लागू गरेको नयाँ नियमअनुसार एक सय नेपाली रुपैयाँभन्दा बढी मूल्यका सामान भारतबाट नेपाल ल्याउँदा भन्सार शुल्क र भ्याट अनिवार्य तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि १ सय रुपैयाँसम्मको सामानमा कुनै अतिरिक्त शुल्क नलगाए पनि अहिले करिब ३० प्रतिशतसम्म अतिरिक्त लागत लाग्न थालेपछि सामान महँगो भएको छ ।
सोही कारण नेपाली ग्राहकको भारततर्फ किनमेल गर्ने प्रवृत्ति घटेको भारतीय व्यापारीहरूको भनाइ छ । एक सय वर्षभन्दा पुरानो सूतापट्टी मन्डी उत्तर बिहारकै सबैभन्दा ठूलो कपडा बजार मानिन्छ । बजारमा ७ सय ५० भन्दा बढी कपडा पसल तथा सयौँ गहना पसल सञ्चालनमा छन् । जसमध्ये धेरैजसो व्यापार नेपालमा निर्भर रहेको बताइन्छ ।
यसैबिच वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलमा पनि नयाँ नीतिको असर देखिन थालेको छ । व्यापारमा गिरावट आएपछि स्थानीय व्यापारीहरूले चिन्ता व्यक्त गरेका छन् ।
व्यापारिक संघ–संस्थाहरूले पनि अवस्थालाई गम्भीर भन्दै दुवै देशका सरकारसँग समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । उनीहरूले परम्परागत व्यापारिक सम्बन्ध जोगाउन कर नीतिमा पुनर्विचार गरिने अपेक्षा गरेका छन् ।