×

वीरगञ्ज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले वीरगञ्ज चिनी कारखानालाई योजनाबद्ध रूपमा ‘हत्या’ गरिएको आरोप लगाएका छन् ।

मङ्गलवार उद्योग मन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै सभापति अन्सारीले कारखाना बन्द हुनुमा ठूलो चलखेल रहेको दाबी गरे । उनले भने, “कारखानाको हत्या भएको हो, यसका हत्याराहरू बजारमै घुमिरहेका छन् ।”

अन्सारीका अनुसार कारखाना बन्द हुँदा कर्मचारी र किसानहरू पीडित भएका छन् भने निजी चिनी कारखाना सञ्चालन गर्नेहरू मोटाउँदै गएका छन् । उनले हत्यारा पत्ता लगाई पीडितलाई न्याय दिन माग गरे ।

चिनी उद्योगमा राजनीति हाबी सभापति अन्सारीले चिनी उद्योगमा ‘इकोनोमिक्स’ भन्दा ‘पोलिटिक्स’ बढी हाबी रहेको बताए । उद्योगीहरूले व्यापारीबाट अग्रिम पैसा लिए पनि किसानहरूलाई उखु भने उधारोमा दिन बाध्य पार्ने गरेको उनको आरोप छ । नेपालमा चिनीको उत्पादन कम र गुणस्तर पनि कमजोर रहेको उनले उल्लेख गरे ।

प्रदूषण र अतिक्रमणको मुद्दा औद्योगिक प्रदूषणले स्थानीय सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पारेको अन्सारीले बताए । उनले आफ्नो क्षेत्रमा क्यान्सर र स्ट्रोकका बिरामी बढेको बताए । “बिहान ४ देखि ६ बजेको बिचमा हावाको रङ्ग कालो हुन्छ,” उनले भने, “यो समस्या समाधान गर्न मन्त्रालयले तत्काल पहल गर्नुपर्छ ।”

यस्तै, कतिपय उद्योगले सार्वजनिक जग्गा र खोला मिचेर संरचना बनाएको भन्दै उनले आपत्ति जनाए । स्थानीय प्रशासन र प्रहरीले यसमा प्रभावकारी काम गर्न नसकेको उनको भनाइ छ । उद्योग मन्त्रालयले टोली खटाएर अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्ने उनले माग गरे ।

भन्सारमा सुधारको सुझाव भन्सार नाकाहरूमा हुने ढिलासुस्ती र कर्मचारीको ‘तजबिज’ अन्त्य गर्नुपर्नेमा अन्सारीले जोड दिए । मुख्य नाकाहरूमा एक्सरे स्क्यानर जडान गरी छिटो चेकजाँच गर्ने व्यवस्था मिलाउन उनले सुझाव दिए । यसले चोरी पैठारी रोक्ने र व्यापारीहरूलाई अनाहकको सास्तीबाट बचाउने उनको भनाइ छ ।

सभापति अन्सारीले यी सबै समस्या समाधान गर्न उद्योग मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने बताए । समितिले पनि यस प्रक्रियामा सहयोग गर्ने उनले आश्वासन दिए ।

Back to top