×

वीरगञ्ज । नेपाली काँग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठकले सरकारको पछिल्ला कदमप्रति चर्को विरोध जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलवार बसेको बैठकले गत भदौ २३ र २४ गतेको विद्रोहबाट बनेको सरकारले सुकुम्वासीहरूलाई आत्महत्या गर्न उक्साएको निष्कर्ष निकालेको हो ।

बैठकपछि काँग्रेस प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुकुम्बासीलाई उठाएको र राखेको ठाउँमा हेर्दा मर्नका निम्ति उक्साएको अनुभूति भएको बताए । “होल्डिङ सेन्टरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकहरू र विद्यार्थी डिप्रेसनमा जाने अवस्थामा देखिन्छन्,” उनले भने ।

काँग्रेसले राज्यले व्यवस्थापनको पाटोलाई बेवास्ता गरी वास्तविक सुकुम्बासीलाई हचुवाको भरमा उठाएर मानवीय मूल्य उल्लङ्घन गरेको आरोप लगाएको छ । नदी किनार व्यवस्थित र राम्रो बनाउने विषयमा काँग्रेस सकारात्मक रहे पनि सुकुम्बासीप्रति राज्यको व्यवहारप्रति गम्भीर चासो व्यक्त गरेको छ । पार्टीले झन्डै १४ लाख नेपाली जनताप्रति कुदृष्टि परेको जनाएको छ ।

“राज्यले यही तवरमा गतिविधि जारी राख्यो भने प्रतिकारमा उत्रिन बाध्य हुने” संसदीय दलका नेता आङदेम्बेले स्पष्ट पारे ।

यसैबिच, संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेशप्रति पनि काँग्रेसले आपत्ति जनाएको छ । आङदेम्बेले संसद् स्थगित गरी अध्यादेश पारित गरेर २८ गते बोलाएको अधिवेशनलाई हठात्को संज्ञा दिँदै सरकारको कदमलाई बदनियत पूर्ण भन्दै आलोचना गरेका छन् । “संशोधन प्रस्ताव र अन्य धेरै संसदीय प्रक्रियाअनुसार हामी आफूलाई प्रस्तुत गर्नेछौँ,” उनले भने ।” उनले सरकारको ढङ्गको नियतले मुलुकलाई ठिक ठाउँमा नलगेको ठहर गरे ।

बैठकले सुकुम्वासी समस्या र संवैधानिक परिषद् अध्यादेश दुवै विषयमा सरकारलाई सचेत गराउने निर्णय गरेको छ ।

Back to top