×

वीरगञ्ज । हरि पन्तले वीरगञ्जको सडक विस्तारसम्बन्धी अन्योल अन्त्य गरी निर्माण कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको संसद् बैठकलाई सम्बोधन गर्दै हरि पन्तले वीरगञ्ज हाल इतिहासकै कठिन परिस्थितिबाट गुज्रिरहेको बताएका हुन् । पर्सा क्षेत्र नम्बर १ का सांसदसमेत रहेका उनले सडक विस्तारका नाममा बजार क्षेत्र अस्तव्यस्त बनेको र उद्योग–व्यापार प्रभावित भएको उल्लेख गरे ।

उनले भारतबाट आउने सम्पूर्ण मालवाहक सवारीसाधन ड्राइपोर्टमार्फत नेपाल प्रवेश गर्ने भएकाले उक्त राजमार्गलाई २५/२५ मिटरभन्दा कम गर्न स्थानीयवासीले आवाज उठाइरहेको बताए । उनले यी सबै विवाद र अन्योललाई अन्त्य गर्दै ठोस निर्णयसहित सडक निर्माणलाई तीव्र गतिमा अघि बढाउन सभामुखमार्फत सरकारसँग माग गरे ।

सांसद पन्तले सडक विस्तारका कारण वीरगञ्जको मुख्य व्यापारिक क्षेत्र प्रभावित भएको उल्लेख गर्दै समग्र उद्योग–व्यापारलाई पूर्ववत रूपमा सञ्चालन गर्न आवश्यक पहल गर्न आग्रह गरे ।

उनले संसद्मा भने, “करिब एक महिना अगाडि १४० वर्षभन्दा अघि वीर शमशेरले बसाएको आधुनिक वीरगञ्जको मुख्य बजार क्षेत्र गण्डकदेखि रक्सौलसम्म सडक दुवैतर्फ डोजर चलाइयो । देशलाई कुल राजस्वको ६० प्रतिशत राजस्व दिने वीरगञ्ज बजार अहिले पूर्ण रूपमा अस्तव्यस्त र बन्द छ । सडकका दुवैतर्फ बजार होइन, भत्किएका भवनका अवशेष मात्रै देखिन्छन् ।”

उनले हेटौंडामा सोही राजमार्गअन्तर्गत २५/२५ गज मात्रै भत्काइएको तर वीरगञ्जमा २५ मिटर भत्काइएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्नसमेत उठाए ।

Back to top