वीरगञ्ज । डीपी अर्यालले प्रतिनिधिसभामा उठेको विपक्षी दलको मागअनुसार प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित हुने नहुने विषयमा आज छलफल गर्ने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का सांसदहरूले उठेर बैठक अवरुद्ध गरेपछि सभामुख डीपी अर्याल ले प्रधानमन्त्रीसँग छलफल तय भएको जानकारी गराएका हुन् ।
सभामुख अर्यालले सदनलाई जानकारी गराउँदै भने, “आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्ने कुरा छ । त्यसकारण आज हामीले यसको प्रतिउत्तर वा जवाफ दिन भ्याउँदैनौँ ।”
उनले प्रधानमन्त्री उपस्थित हुन सक्ने वा नसक्ने विषयमा तत्काल निर्णय दिन नसकिने उल्लेख गर्दै प्रधानमन्त्रीको अवस्था र उपलब्धताबारे छलफलपछि मात्रै निष्कर्षमा पुगिने बताए ।
सभामुख डीपी अर्याल ले भोलिको बैठकका विषयमा पनि प्रधानमन्त्रीसँग संवाद गरी कार्यव्यवस्था समितिको बैठकमा थप छलफल गरिने जानकारी दिए ।
तर सभामुखको जवाफपछि पनि नेपाली कांग्रेस का सांसदहरूले सदनमा अवरोध जारी राखेका थिए ।