वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज बिहान ११ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका छन् ।
मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने प्रक्रिया अघि बढाउन लागेका हुन् ।
वैशाख २८ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते प्रदेशसभा बैठक बोलाएर विश्वासको मत लिने निर्णय गरेको थियो । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्राचारअनुसार आज बिहान ११ बजे बैठक बोलाइएको जानकारी दिएका छन् ।
मधेस प्रदेशसभामा हाल कायम रहेका १०२ जना प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५२ जनाको समर्थन आवश्यक पर्छ । अहिले सरकारमा सहभागी दलहरूको ६३ जना प्रदेशसभा सदस्यको समर्थन कायम रहेको छ । नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का २६, नेपाली कम्युनिस्ट पार्टीका १५ जना सांसदहरूको समर्थन सरकारलाई छ । चार दलको गठबन्धन कायम रहेको अवस्थामा मुख्यमन्त्री यादवको पक्षमा ६२ जनाको समर्थन देखिन्छ ।
जनमत पार्टीले औपचारिक रूपमा समर्थन फिर्ता लिए पनि पार्टीभित्र आन्तरिक विवाद कायम छ । जनमतका ९ जना प्रदेशसभा सदस्यले वैशाख २१ गते साँझ समर्थन फिर्ता लिएको घोषणा गरे पनि पार्टीका दुई मन्त्री अर्थमन्त्री महेश प्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहा अझै पदमा कायम छन् ।
पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले आजको विश्वासको मत प्राप्त गर्ने अपेक्षा गरिएको छ ।