×

वीरगञ्ज । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी सबै कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा केन्द्रीय कार्यालयमा बसेको बैठकले निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा पार्टीले सदस्यता अभिलेखीकरणलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नेपाली काँग्रेसलाई सबैभन्दा बलियो डिजिटल सदस्य नेटवर्क भएको पार्टी बनाउने लक्ष्य राखेको उल्लेख छ ।

पार्टीले प्रत्येक क्रियाशील सदस्यलाई आफ्नै मोबाइलबाट अनलाइनमार्फत ‘स्वयं सदस्यता आवेदन फारम’ भरी विवरण अद्यावधिक गर्ने सुविधा उपलब्ध गराएको छ । अद्यावधिक गर्ने क्रममा कुनै समस्या देखिएमा सदस्यहरूले ९७०१२५५५५५ मा फोन गरेर ‘एआई साथी’सँग सहयोग लिन सक्नेछन् । यस नम्बरमा सम्पर्क गर्दा सोधिने प्रश्नावलीको उत्तर दिएर फोनबाटै अद्यावधिक फारम भर्न सकिने व्यवस्था मिलाइएको छ ।

यसबाहेक केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रमा ९७१२०५६३५१ र ९७१२०५६३५२ मा सम्पर्क गरेर पनि समस्या समाधान गर्न सकिनेछ ।

सदस्यता अद्यावधिक नगर्ने र काँग्रेस परिचयपत्र (एनसी आईडी) प्राप्त नगर्ने व्यक्तिले १५औँ महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी हुन नपाउने नेपाली कांग्रेसले स्पष्ट रूपमा जनाएको छ । पार्टी विधानअनुसार यो पूर्व सर्त पूरा गर्नु अनिवार्य रहेको मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्णयसँगै नेपाली कांग्रेसले सदस्यता व्यवस्थापनलाई थप पारदर्शी, छिटोछरितो र प्रविधिमैत्री बनाउने प्रयासलाई तीव्रता दिएको छ ।

Back to top