×

वीरगञ्ज । गैरसरकारी संस्था महासंघ नेपाल पर्सा द्वारा स्थापित “स्वर्गीय अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” यस वर्ष अधिवक्ता स्वेता सरित लाई प्रदान गरिने भएको छ ।

महासंघ पर्साका सचिव चन्देश चौहान का अनुसार स्वर्गीय अर्चना गुप्ताको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार दोस्रो वर्ष महिला अधिकार तथा सामाजिक क्षेत्रमा सक्रिय योगदान पुर्‍याएकी सरितलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

पर्साको पोखरिया नगरपालिका–४ निवासी अधिवक्ता सरित विगत दुई दशकदेखि विभिन्न गैरसरकारी संघसंस्थामार्फत महिला अधिकार, महिला सशक्तिकरण तथा बालबालिकासम्बन्धी क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी छन् । समाजमा रहेका विकृति तथा विसंगतिविरुद्ध इमान्दारीपूर्वक काम गर्दै महिला अधिकारको सवालमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गर्न लागिएको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष छठु साह को अध्यक्षतामा बुधबार बसेको बैठकले अधिवक्ता सरितलाई विशेष कार्यक्रमबीच दोस्रो “स्वर्गीय अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” प्रदान गर्ने निर्णय गरेको हो । अध्यक्ष साहका अनुसार पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ ।

स्वर्गीय अर्चना गुप्ता गैरसरकारी संस्था महासंघ नेपाल पर्साकी कार्यसमिति सदस्यसमेत रहेकी थिइन् । उनको ४० वर्षको उमेरमा २०८१ वैशाख ९ गते असामयिक निधन भएको थियो ।

Back to top