वीरगञ्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीच भएको एकताप्रति ह्रदयश त्रिपाठीले गम्भीर असहमति जनाएका छन्।
त्रिपाठी लोसपा नेपालसँग एकता गर्दै जसपा नेपालसँगको पार्टी एकता प्रक्रियामा सहभागी भए पनि पछिल्लो समय निर्वाचन आयोगले दिएको मान्यतामा उनको पार्टी समावेश नभएको बताइएको छ। जनता प्रगतिशील पार्टी बन्द नगरेका कारण उनलाई एकीकरण प्रक्रियामा समावेश नगरिएको नेताहरूले प्रतिक्रिया दिएका छन्।
यद्यपि त्रिपाठीले जसपा नेपाल र लोसपा बीचको एकतालाई स्वागतयोग्य कदम भनेका छन्। उनले आफ्नो पार्टी र तमलोपाको प्रयासबाट सङ्घीय लोकतान्त्रिक मोर्चा गठन भएको दाबी गर्दै लोसपासँगको एकता प्रक्रिया अघि बढाउन आफ्नो भूमिका रहेको उल्लेख गरेका छन्।
तर पछिल्लो एकता प्रक्रिया अघि बढ्दा आफ्नो पार्टी तथा तमलोपालाई कुनै जानकारी नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। निर्वाचनको मुखमा भएको अपारदर्शी प्रयासप्रति आफूहरूले सहनशीलता देखाए पनि घोषणापत्र आएपछि असहमति जनाउन बाध्य भएको उनले बताए।
जसपा नेपालले सार्वजनिक गरेको घोषणापत्रमा शासकीय स्वरूप अन्तर्गत प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था उल्लेख गरिएको छ, जसलाई त्रिपाठीले कम्युनिष्ट विचारसँग मिल्दोजुल्दो भन्दै आलोचना गरेका छन्। उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था अल्पसंख्यकका लागि घातक हुने दाबी पनि गरेका छन्।
त्यसैगरी उनले जसपा नेपालले अघि सारेको पूर्ण समानुपातिक निर्वाचन प्रणालीप्रति पनि असहमति जनाएका छन्। उनका अनुसार यस्ता सैद्धान्तिक विषय स्पष्ट नभएसम्म एकता गर्नु आत्मघाती हुने टिप्पणी गरेका छन्।
यसअघि त्रिपाठी जसपा नेपालको घोषणापत्र लिएर निर्वाचनमा सहभागी भएका थिए। उनी एकीकृत जसपा नेपालको ४३ सदस्यीय केन्द्रीय समन्वय समितिमा पनि समावेश थिए र बैठकहरूमा सहभागी भएको बताइएको छ। तर निर्वाचन आयोगले एउटै व्यक्ति दुई पार्टीमा रहन नपाउने स्पष्ट पारेपछि विवाद उत्पन्न भएको हो।
निर्वाचन आयोग नेपाल ले पत्र पठाएपछि त्रिपाठीलाई पार्टी बन्द गर्न भनिएको भए पनि उनले नमानेका कारण उनलाई जसपा नेपालमा नराखिएको एक नेताले बताएका छन्। ती नेताका अनुसार त्रिपाठीले एकता प्रक्रियामा सहभागिता जनाए पनि पार्टीगत दायित्व पूरा नगरेपछि समस्या देखिएको हो।