×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सामा सञ्चालन गरिरहेको सङ्गठन विस्तार अभियानभित्र आन्तरिक विवाद र गुटगत गतिविधि देखिन थालेको छ । पार्टीभित्र नेतृत्व र वर्चस्वको प्रतिस्पर्धा चुलिँदै जाँदा आधा दर्जनभन्दा बढी समूह सक्रिय बनेको स्थानीय स्रोतहरूले बताएका छन् ।

रास्वपाले देशभर सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत सदस्यता वितरण, वडा भेला तथा वडा अधिवेशनहरू सञ्चालन गरिरहेको भए पनि पर्सामा भने अभियान अपेक्षित रूपमा एकीकृत ढङ्गले अघि बढ्न नसकेको बताइन्छ । विभिन्न तहका नेताहरूबिच समन्वय अभाव र आन्तरिक शक्ति सङ्घर्षका कारण वडा तहका कार्यक्रम प्रभावित भएको आरोपसमेत लाग्न थालेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका केही वडा भेलाका तस्बिर तथा भिडियोहरूमा अपेक्षाकृत कम उपस्थिति देखिएपछि पार्टीको स्थानीय जनाधारमाथि प्रश्न उठ्न थालेको छ । यसलाई लिएर अन्य राजनीतिक दलका स्थानीय नेताहरूले समेत रास्वपाको सङ्गठनात्मक क्षमता र प्रभावबारे टिप्पणी गर्न थालेका छन् ।

स्थानीय एक नेताका अनुसार अघिल्लो निर्वाचनमा पुराना दलहरूको सङ्गठन बलियो भए पनि मत भने रास्वपातर्फ गएको देखिएको थियो । तर अहिले भइरहेका भेला तथा कार्यक्रममा अपेक्षित सहभागिता नदेखिनु पार्टीका लागि चिन्ताको विषय बनेको उनको भनाइ छ ।

दलभित्र चुनावअघि सङ्गठन निर्माणमा सक्रिय समूह र पछि पार्टीमा जोडिएका नेताहरूबिच मतभेद बढ्दै गएको बताइन्छ । दुवै पक्षले आफ्नो योगदानकै कारण पार्टी बलियो बनेको दाबी गर्दै आएका कारण वडा तहका कार्यक्रमहरूमा विवाद उत्पन्न हुने गरेको स्रोतहरूको दाबी छ ।

रास्वपाका स्थानीय नेताहरूका अनुसार केही वडामा अधिवेशन सम्पन्न भइसकेका छन् भने बाँकी स्थानमा तदर्थ समितिमार्फत संरचना निर्माणको काम भइरहेको छ । त्यसपछि जिल्ला अधिवेशनको तयारी अघि बढाइने योजना रहेको जनाइएको छ ।

यसैबिच जिल्ला अध्यक्ष एवं सांसद बुद्धिप्रसाद पन्त निकट समूहकै कारण सङ्गठनभित्र किचलो बढेको आरोप पनि केही नेताहरूले लगाउन थालेका छन् । उनीहरूका अनुसार वडा भेलामा प्रतिनिधि चयन र नेतृत्व छनोटलाई लिएर असन्तुष्टि देखिएको छ ।

तर यस विषयमा जिल्ला अध्यक्ष हरि पन्तको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।

Back to top