×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा सङ्गठन विस्तार अभियानलाई तीव्र बनाइरहेका बेला युवा समाजसेवी तेज शमशेर जबराको नाम आगामी मेयर पदको सम्भावित उम्मेदवारका रूपमा चर्चामा आउन थालेको छ ।

महानगरका वडा–वडामा सञ्चालन भइरहेका रास्वपा वडा भेलाहरूमा सक्रिय सहभागिता जनाउँदै आएका जबराले उम्मेदवार तथा कार्यकर्तालाई हौसला प्रदान गर्दै सङ्गठन सुदृढीकरण अभियानमा साथ दिइरहेका छन् ।

सोही सक्रियतासँगै पार्टीभित्र र बाहिर उनलाई आगामी स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदका बलिया आकाङ्क्षीका रूपमा हेरिन थालिएको राजनीतिक वृत्तमा चर्चा छ ।

रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताबिच जबराको सम्भावित उम्मेदवारीबारे व्यापक बहस भइरहे पनि पार्टीले यस विषयमा औपचारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन । स्रोतका अनुसार रास्वपाले हाल सङ्गठन विस्तार, वडा संरचना मजबुत बनाउने तथा जनआधार विस्तार गर्ने रणनीतिमा जोड दिएको छ ।

तेज शमशेर जबरा लामो समयदेखि समाजसेवामा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन् । उनले वीरगञ्जसहित देशका विभिन्न क्षेत्रमा पुगेर विपन्न तथा असहाय नागरिकलाई सहयोग गर्ने, युवाहरूलाई रोजगारीका अवसरसँग जोड्ने तथा सामाजिक अभियानहरू सञ्चालन गर्ने काम गर्दै आएका छन् ।

केही दिनअघि मात्रै जबराले रवि लामिछानेसँग भेटघाट गर्दै रास्वपामा प्रवेश गरेका थिए । पार्टी प्रवेश लगत्तै उनको सक्रियता बढेपछि वीरगञ्जको राजनीतिक वृत्तमा नयाँ समीकरणको चर्चा सुरु भएको हो ।

स्वच्छ छवि, युवामाझ लोकप्रियता तथा सामाजिक सक्रियताका कारण जबरालाई रास्वपाबाट वीरगञ्ज महानगरपालिकाको सम्भावित मेयर उम्मेदवारका रूपमा हेरिन थालेपछि महानगरको राजनीतिक माहौल थप तातिएको छ ।

Back to top