×

वीरगञ्ज । स्वर्णिम वाग्ले ले विपक्षी दलहरूले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि उठाएका प्रश्नको जवाफ दिँदै आफ्नै दस्तावेज र विचार जनताबाट अनुमोदन गराउन अर्को निर्वाचन कुर्नुपर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सरकार जनताबाट अनुमोदित नीति, भाषा र दृष्टिकोणअनुसार अघि बढिरहेको दाबी गरे ।

उनले वर्तमान सरकारको नीति तथा कार्यक्रम र बजेटका आधारहरू राष्ट्रिय स्वतन्त्र पार्टी को निर्वाचन घोषणापत्रमा आधारित रहेको उल्लेख गर्दै जनताले सोही दस्तावेजलाई समर्थन गरेर मत दिएको तर्क प्रस्तुत गरे ।

अर्थमन्त्री वाग्लेले निर्वाचनअघि “रूपान्तरणका सय आधार” शीर्षकमा सार्वजनिक गरिएको वाचापत्रलाई जनताले अनुमोदन गरेको भन्दै सरकारका शासकीय सुधारका मार्गचित्र त्यही अवधारणामा आधारित रहेको बताए ।

“जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सार यही हो,” उनले संसद्मा भने, “हामीले निर्वाचनअघि रूपान्तरणका सय आधार भनेर वाचापत्रमा उल्लेख गरेका थियौँ । जनताले त्यसलाई अनुमोदन गरेकाले अहिलेको नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता त्यही आधारमा आएको हो ।”

उनले विपक्षी दलतर्फ संकेत गर्दै थपे, “अब आफ्नै भाषा र आफ्नै दस्तावेज अनुमोदित गराउनका लागि अर्को चुनाव कुर्नुपर्ला ।”

अर्थमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसद्भित्र मिश्रित प्रतिक्रिया देखिएको छ । विपक्षी सांसदहरूले सरकार आलोचना सहन नसक्ने र अहंकारी शैलीमा प्रस्तुत भएको आरोप लगाएका छन् भने सत्तापक्षीय सांसदहरूले जनमतअनुसार सरकार अघि बढेको तर्क गरेका छन् ।

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल जारी रहेको छ ।

Back to top