×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । एकीकृत जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेता चयन प्रक्रिया लम्बिएको छ । बुधवार बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि दलको नेता चयन हुन नसकेको हो ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभामा विश्वासको मत लिने समयमा जसपा भित्र दलको नेताको हुने भन्ने विषयमा विवाद सतहमा आएको थियो ।

तत्कालीन जसपा नेपालका तर्फबाट सरोजकुमार यादव र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका तर्फबाट जितेन्द्र सोनल दुवैले आफूलाई एकीकृत जसपाको संसदीय दलको नेता दाबी गरेपछि अन्योल सिर्जना भएको थियो । दलभित्रको यही विवादका कारण मुख्यमन्त्री यादवले विश्वासको मत लिन सकेनन् र उक्त कार्यक्रम आउँदो शुक्रवारका लागि सारिएको छ ।

संसदीय दलको नेता चयनमा देखिएको विवाद समाधान गर्न बुधवार दुवै पक्षका सांसदहरूको बैठक आह्वान गरिएको थियो । तर, दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म चलेको उक्त बैठकले पनि नयाँ नेता चयन गर्न सकेन ।

बैठकमा सहभागी एक सांसदका अनुसार, बुधवारको छलफल केवल नेता चयनको प्रक्रिया—सर्वसम्मति वा निर्वाचन—कस्तो हुने भन्ने विषयमा मात्र केन्द्रित थियो। बिना निष्कर्ष बैठक स्थगित भएपछि बिहीबार पुनः बस्ने सहमति भएको छ ।

ती सांसदले दिएको जानकारीअनुसार बुधवारको बैठकमा कसैले पनि औपचारिक रूपमा आफ्नो दाबी पेस गरेका छैनन् । बिहीबार बस्ने बैठकमा आकाङ्क्षीहरूले आफ्नो दाबी प्रस्तुत गर्नेछन् । सुरुमा सर्वसम्मतिबाटै नेता चयन गर्ने प्रयास गरिने र सहमति जुट्न नसके मतदान प्रक्रियामार्फत टुङ्गो लगाइने बताइएको छ ।

स्रोतका अनुसार दलको नेताका लागि तत्कालीन जसपा नेपालबाट सरोजकुमार यादव र लालबाबु राउत तथा तत्कालीन लोसपाबाट जितेन्द्र सोनलले आन्तरिक रूपमा दाबी गरिरहेका छन् ।

एकीकृत जसपा नेपालको नयाँ संसदीय दलको नेता चयन भएसँगै मधेस प्रदेश सरकारको नेतृत्व र सत्ता समीकरणको नयाँ बाटो तय हुने अपेक्षा गरिएको छ ।

Back to top