×

वीरगञ्ज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रतिनिधि सभा बैठकमा निरन्तर अनुपस्थित रहेको भन्दै प्रधानमन्त्री बालेन शाहको चर्को आलोचना गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले प्रधानमन्त्री शाह संसद्प्रति जबाफदेही नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन् । उनले प्रधानमन्त्रीको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै उनी संसद्को अभिन्न अङ्ग हो वा होइन भनेर प्रश्न समेत गरे ।

“उहाँ यो संसद्को अङ्ग हो कि होइन सभामुखजी ? मैले चाहिँ अहिले थाहा पाएको छैन,” केसीले संसद्मा भने, “उहाँ भिन्दै साम्राज्य, कहीँको टापुको सम्राट् हो कि यो संसद्को अङ्ग हो ? म यस विषयमा सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु। यो गम्भीर विषय हो ।”

आउँदै गरेको मनसुन र विपद् व्यवस्थापनको पूर्व तयारीबारे सरकारलाई गम्भीर भएर काम गर्न आग्रह गर्ने क्रममा सांसद केसीले प्रधानमन्त्रीको संसद्प्रतिको बेवास्तामाथि असन्तुष्टि पोखेका हुन् । हाल प्रधानमन्त्री शाहले नै गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् ।

“प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । विपद्को पूर्व तयारीमा गृह मन्त्रालय अत्यन्त गम्भीर रूपमा लागोस्,” केसीले भने, “तर, आफैँ गृहमन्त्री रहनुभएका प्रधानमन्त्री स्वयं यो संसद्को अङ्ग हो कि होइन सभामुखज्यू ?”

यसअघि सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने दिन पनि प्रधानमन्त्री शाह प्रतिनिधि सभा बैठकमा अनुपस्थित थिए । प्रधानमन्त्री बैठकमा नआएपछि उनको सट्टामा अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए ।

Back to top