वीरगञ्ज । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको राजीनामा माग गरेका छन् । सांसदहरूले संसद्मा उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री असफल भएको र संसद्प्रति जबाफदेही नबनेको भन्दै उनले मार्ग प्रशस्त गर्न (राजीनामा दिन) माग गरेका हुन् ।
बिहीबारको प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै सांसद साम्पाङ प्लेकार्डसहित उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनलाई बोल्न दुई मिनेटको समय दिएका थिए ।
संसद्मा बोल्दै साम्पाङले प्रतिनिधि सभा नियमावलीको नियम १५ को उपनियम २ को व्यवस्था स्मरण गराउँदै सरकारले संसद्लाई बेवास्ता गरेको आरोप लगाए । आफूले गत वैशाख २८ र २९ गते गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित गम्भीर प्रश्नहरू उठाएको तर १० दिन बितिसक्दा पनि जवाफ नपाएको उनको गुनासो थियो ।
“अहिले मन्त्रिपरिषद् पूर्ण रूपमा विस्तार भएको छैन। गृह र रक्षा मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्रीले नै लिइरहनुभएको छ,” साम्पाङले भने, “सुकुम्वासी समस्या, शान्ति सुरक्षा तथा लिपुलेकलगायतका सीमा समस्याका विषयमा हामीले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले संसद्मै उपस्थित भएर दिनुपर्छ ।”
नियमावलीअनुसार सम्बन्धित मन्त्रीले ७ दिनभित्र संसद्मा जवाफ दिनुपर्ने व्यवस्था भए पनि १० दिनसम्म प्रधानमन्त्री मौन बसेर संसद्को गरिमामाथि धावा बोलेको उनले जिकिर गरे ।
प्रधानमन्त्रीले आफ्नो कर्तव्य पालना नगरेको भन्दै उनले कडा आलोचनासमेत गरे । “उहाँ (प्रधानमन्त्री) यो संसद्को सदस्य हो कि होइन? यो देशमा संसद् छ कि छैन? हामी सबैले लोकतन्त्र र संसद्को गरिमा जोगाउनु पर्छ कि पर्दैन?” प्रश्न गर्दै साम्पाङले संसद्मा भने, “यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ । जनताको मतद्वारा स्थापित संसद्प्रति जबाफदेही नहुने प्रधानमन्त्री कोप्रति जबाफदेही हुनुहुन्छ? यहाँ शङ्का गर्ने प्रशस्त ठाउँ छ ।”
प्रधानमन्त्री संसद्प्रति जिम्मेवार र उत्तरदायी नबन्दासम्म सदनमा आफ्नो विरोध निरन्तर जारी रहने चेतावनीसमेत सांसद साम्पाङले दिएका छन् ।