वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लाका संस्थापक सभापति चन्दन कुमार स्वर्णकारलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पार्टीको कदमप्रति कडा असन्तुष्टि व्यक्त गर्दै स्वर्णकारले आफूविरुद्ध षड्यन्त्र भएको र आफ्नो ‘राजनीतिक हत्या’ गरिएको दाबी गरेका छन् ।
रास्वपा केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले पार्टी हित विपरीत काम गरेको भन्दै स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरेको हो । बुधवार रास्वपा केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठद्वारा जारी पत्रमा उक्त कारबाहीबारे उल्लेख गरिएको छ ।
यसअघि गत मङ्गलवार मात्रै रास्वपा केन्द्रीय समितिको बैठकले बाराको जिल्ला समिति भङ्ग गर्ने निर्णय गरेको थियो । जिल्लामा नयाँ समिति गठनका लागि सम्पर्क विभागका समन्वय प्रमुख प्रदीप तिमल्सेना (साजन) लाई जिम्मेवारी दिइएको छ ।
‘पुनः सभापति चुनिने डरले निकालियो’
पार्टीले साधारण सदस्यबाटै हटाएपछि स्वर्णकारले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका छन् । उनले कुनै निष्पक्ष छानबिन नगरी तथ्य र प्रमाणलाई बेवास्ता गर्दै आफूलाई हटाइएको आरोप लगाएका छन् ।
आगामी जेठ ९ गते हुन गइरहेको विस्तारित बैठक तथा अधिवेशनमा इमानदार कार्यकर्ताले आफूलाई पुनः जिल्ला सभापतिमा निर्वाचित गर्ने सम्भावनाबाट डराएर केही नेताहरूको दबाबमा कारबाहीको निर्णय गरिएको उनको दाबी छ ।
“रास्वपाको एउटा प्राविधिक पानाबाट मेरो नाम हटाइएला, तर महागढीमाई र बाराका स्वाभिमानी जनताको मुटुबाट मेरो नाम कसैले हटाउन सक्ने छैन,” स्वर्णकारले सामाजिक सञ्जालमा लेखेका छन् ।
पार्टीको निर्णयलाई ‘अन्यायपूर्ण’ भन्दै उनले जेठ ९ गते हुने विस्तारित बैठकलाई बाराका कार्यकर्ताले समयमै जवाफ दिने चेतावनीसमेत दिएका छन् ।
आफ्नो राजनीतिक यात्रा रास्वपामै मात्र सीमित नरहेको बताउँदै स्वर्णकारले अब स्वतन्त्र रूपमा महागढीमाई र बाराका जनताको सेवामा अझ सशक्त ढङ्गले अगाडि बढ्ने घोषणा गरेका छन् । आगामी स्थानीय तह निर्वाचनमा जनताले नै आफ्नो फैसला गर्ने बताउँदै उनले न्यायको लडाइँमा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गर्दै “जय बारा, जय महागढीमाई” लेखेका छन् ।