×

वीरगञ्ज । जनता पार्टी पर्साले जिल्लाको समग्र विकास, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग तथा स्थानीय जनसरोकारका विषय समेट्दै १८ बुँदे मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामार्फत पठाइएको उक्त ज्ञापन पत्र जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ नेतृत्वको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई हस्तान्तरण गरेको हो ।

ज्ञापन पत्रमा पर्सा जिल्लाको विकासका लागि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा नीति कार्यक्रममा विशेष प्राथमिकता दिनुपर्ने माग गरिएको छ । पार्टीले नारायणी अस्पतालको स्तरोन्नति, कृषि क्षेत्रमा मल–बीउको सहज उपलब्धता, प्रभावकारी सिँचाइ व्यवस्था, सडक विस्तार तथा मर्मत, प्रदूषण नियन्त्रण, बेरोजगारी समस्या समाधान, उद्योग संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्न आग्रह गरेको जनाएको छ ।

त्यस्तै, वीरगञ्जलाई देशको प्रमुख आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा विकास गर्न सङ्घीय सरकारले विशेष योजना ल्याउनुपर्ने मागसमेत ज्ञापन पत्रमार्फत गरिएको छ ।

ज्ञापन पत्र बुझाउँदै जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफले पर्साबाट निर्वाचित जनप्रतिनिधि तथा सांसदहरूले जिल्लाका समस्याका विषयमा प्रभावकारी रूपमा आवाज उठाउन नसकेको आरोप लगाए । उनले आगामी जेठ १५ गते प्रस्तुत हुने आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत जनमत पार्टीले उठाएका माग सम्बोधन हुनुपर्ने बताए ।

“पर्सा विकासको दृष्टिले अत्यन्त सम्भावना बोकेको जिल्ला भए पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन,” अध्यक्ष सरार्फले भने, “अब आउने बजेटमार्फत यहाँका जनताका आधारभूत आवश्यकता र विकासका मुद्दा सम्बोधन हुनै पर्छ ।”

पार्टीले ज्ञापन पत्रमार्फत उठाइएका मागलाई सरकारले बेवास्ता गरे आगामी दिनमा थप दबाबमूलक कार्यक्रम सञ्चालन गरिने चेतावनीसमेत दिएको छ ।

ज्ञापन पत्र बुझाउने टोलीमा सिपु तिवारी, राजनारायण मिश्र, नागेन्द्र गुप्ता, डा. मनोज कुमार, राजुराज गिरी, विजय पासवान, निरञ्जन कुशवाहा, मनोज साह, देवेन्द्र रवानी, अजित सिंह, आशु सिंह, अञ्जना गुप्ता, रुक्साना खातुन, अमन गुप्ता, साहित्य हुसेन, मनुजराम शर्मा आदि लगायतको उपस्थिति रहेको थियो ।

Back to top