×

वीरगञ्ज ।  नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका रौतहटको वृन्दावन नगरपालिकाका नगर सभापति अरविन्द सहनी एक सातामै पुनः काँग्रेसमा फर्किएका छन् ।

सहनी जेठ ३ गते रास्वपाका प्रवक्ता मनिष झाको हातबाट टिका लगाएर रास्वपामा प्रवेश गरेका थिए । तर, एक हप्ता नबित्दै उनले पुनः नेपाली काँग्रेसमै फर्किने निर्णय गरेका हुन् । उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद देवप्रसाद तिमल्सिनाले पार्टीमा स्वागत गर्दै पुनः प्रवेश गराएका हुन् ।

वृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति यादवका अनुसार सहनी काँग्रेसमा फर्किएसँगै नगर सभापतिको जिम्मेवारीमै कायम रहनेछन् ।

पार्टीमा पुनः फर्किने क्रममा सहनीले आफू ‘बाटो बिराएर’ रास्वपामा पुगेको बताएका छन् । काँग्रेस नै आफ्नो राजनीतिक आधार र आस्था भएको उल्लेख गर्दै उनले आगामी दिनमा पार्टी सङ्गठन सुदृढीकरणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनको एक सातामै भएको राजनीतिक ‘यु–टर्न’ ले स्थानीय राजनीतिमा चर्चा पाएको छ ।

Back to top