सांकेतिक तस्बिर ।
वीरगञ्ज । भारतसँगको खुला सीमाका कारण पर्सा जिल्लामा लागूऔषध तस्करी तथा सेवनको समस्या बढ्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वैशाख महिनामा मात्रै लागूऔषध कारोबारमा संलग्न ३१ जनालाई पक्राउ गरिएको छ ।
प्रहरीले उक्त अवधिमा ८ किलो ४ सय ग्राम गाँजा, १६ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, ४ किलो ३१ ग्राम चरेस तथा ३० हजार ५ सय १७ वटा ट्रामाडोल ट्याब्लेट बरामद गरेको जनाएको छ ।
पछिल्लो समय प्रहरीले ‘लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान’ सञ्चालन गरेपछि दैनिकजसो साना स्तरका तस्कर पक्राउ पर्न थालेका छन् । हालै वीरगञ्ज–३२ का राहुल सिंह र बारा जितपुरसिमरा–७ का नन्दन गुप्तालाई ८ ग्राम ४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको थियो ।
त्यसअघि शंकराचार्य गेट चेकपोस्टबाट चार जना लागूऔषध तस्कर पक्राउ परेका थिए । प्रहरीले सीमावर्ती क्षेत्रबाट महिलासहित युवायुवतीमा लागूऔषध प्रयोग र तस्करी बढ्दै गएको जनाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले खुला सीमा, भारतमा सहज उपलब्ध प्रतिबन्धित औषधि तथा वैज्ञानिक परीक्षण प्रणालीको अभावका कारण नियन्त्रणमा चुनौती रहेको बताए । सामाजिक अभियन्ताहरूले पनि लागूऔषध समस्या समाधानका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको बताएका छन् ।