×

वीरगञ्ज । सरकारी कर्मचारीको सरुवा निश्चित मापदण्ड, कार्यतालिका तथा कानुनी व्यवस्थाअनुसार हुनुपर्ने प्रावधान रहे पनि वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत केही कर्मचारी लामो समयदेखि एउटै कार्यालयमा रहँदा प्रशासनिक पारदर्शितामाथि प्रश्न उठ्न थालेको छ ।

विशेषगरी ट्रायल प्रमुख रामसुन्दर महतो वर्षौँदेखि सोही कार्यालयमा कार्यरत रहेको भन्दै सेवाग्राही तथा स्थानीय तहबाट गुनासो बढेको छ । स्थानीय स्रोतका अनुसार उनको अन्यत्र सरुवा भए पनि पुनः वीरगञ्जमै फर्किने गरिएको आरोप छ ।

स्थानीयवासीले लामो समयसम्म एउटै कार्यालयमा कर्मचारी रहँदा सुशासन, पारदर्शिता तथा सेवा प्रवाहको प्रभावकारितामा असर पर्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले कर्मचारी व्यवस्थापन तथा सरुवा प्रणालीलाई नियमअनुसार प्रभावकारी बनाउन माग गरेका छन् ।

यता, वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा फर्जी लाइसेन्स नियन्त्रणका लागि केही समयअघि कडाइका साथ सञ्चालन गरिएको अभियान पछिल्लो समय कमजोर बनेको भन्दै सेवाग्राहीहरूले आरोप लगाएका छन् । उनीहरूका अनुसार पहिले रोकिएको भनिएको ‘सेटिङ सिस्टम’ पुनः भित्री रूपमा सक्रिय भएको छ ।

स्थानीय स्रोतका अनुसार ट्रायल र लिखित परीक्षा औपचारिकतामा सीमित बन्दै गएको तथा सीमित व्यक्तिलाई पटक–पटक परीक्षा गराएर पास गराउने अभ्यास भइरहेको दाबी गरिएको छ । बिचौलियामार्फत काम हुने गरेको आरोपसमेत सेवाग्राहीहरूले लगाएका छन् ।

यसअघि ट्रायल तथा लिखित परीक्षा सञ्चालनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेपछि अनियमित आर्थिक कारोबार रोकिएको चर्चा भए पनि पछिल्लो समय पुनः अनियमितता बढेको स्थानीयको भनाइ छ ।

सेवाग्राहीहरूले कार्यालय प्रमुख कुशेश्वर साहमाथि समेत प्रश्न उठाउँदै फर्म भर्ने, लिखित परीक्षा पास गराउने तथा ट्रायल प्रक्रियामा बिचौलियाको चलखेल हुने गरेको आरोप लगाएका छन् ।

स्थानीयवासीले ट्रायल परीक्षा प्रणालीलाई पूर्ण रूपमा डिजिटल निगरानी वा लाइभ स्ट्रिमिङ प्रणालीमा लैजानुपर्ने माग गर्दै यसले प्रक्रिया थप पारदर्शी, निष्पक्ष र विश्वसनीय बन्ने विश्वास व्यक्त गरेका छन् ।

Back to top