×

वीरगञ्ज । मधेस प्रदेश सरकारअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्न कडा कदम चाल्ने निर्णय गरेको छ । पर्सा, बारालगायत प्रदेशका सबै आठ जिल्लामा फैलिँदै गएको डिजे ‘आतङ्क’ तथा अत्यधिक आवाजका कारण हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न सुरक्षा निकायको समन्वयमा कडाइ गर्ने निर्णय गरिएको हो ।

गृह मन्त्रालयले सार्वजनिक स्थलमा प्रयोग हुने डिजे तथा अन्य अत्यधिक आवाज निकाल्ने उपकरणहरूको प्रयोग नियन्त्रण गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । यसका लागि प्रहरीलाई आवश्यक निर्देशन पनि दिइसकिएको गृहमन्त्री फकिरा महतोले बताए ।

बैठकले जनकपुरधाम परिक्रमा क्षेत्रभित्र मदिरा बिक्री वितरण नियन्त्रण गर्ने, मधेस भवन परिसरको सुरक्षा व्यवस्थापन सुदृढ गर्ने तथा कर्मचारी आवास क्षेत्रमा अनधिकृत बसोबास हटाउने लगायतका निर्णय पनि गरेको छ ।

त्यस्तै, मधेस भवनको समग्र सुरक्षा संवेदनशीलताको सूक्ष्म अध्ययन गरी १५ दिनभित्र विस्तृत ‘सुरक्षा मानक सञ्चालन कार्यविधि’ तयार गर्न समिति गठन गर्ने निर्णय गरिएको छ ।

मधेस भवनको दैनिक सरसफाइको जिम्मेवारी कार्य विभाजनअनुसार ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई दिइने र नियमित अनुगमनको व्यवस्था मिलाइने भएको छ ।

बैठकले कर्मचारी आवास क्षेत्रमा बसोबास गरिरहेका अनधिकृत व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया पूरा गर्दै तोकिएको समय सीमाभित्र खाली गराउने निर्णय पनि गरेको छ । यस कार्यको समन्वय गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत जिन्सी शाखा प्रमुखको संयोजकत्वमा सुरक्षा निकायसँग मिलाएर गरिनेछ ।

त्यसैगरी, गुठी जग्गाको अभिलेख अद्यावधिक गर्ने, अतिक्रमण भएको पाइए कानुनी कारबाही अघि बढाउने तथा दीर्घकालीन व्यवस्थापनका लागि गुठी संस्थान शाखा कार्यालय जनकपुरलाई स्पष्ट कार्य योजना तयार गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

फुटपाथ तथा अतिक्रमण व्यवस्थापनका विषयमा स्थानीय तहले आवश्यक परे सुरक्षा निकायसँग समन्वय गरेर सहयोग लिने व्यवस्था मिलाइने निर्णयसमेत बैठकले गरेको छ ।

Back to top