×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित आदर्श स्कुलमा मन्टेश्वरी तह उत्तीर्ण गरेका विद्यार्थीहरूको दीक्षान्त समारोह शनिवार सम्पन्न भएको छ ।

आदर्श स्कुलका प्रिन्सिपल राम विनोद पण्डितको सभापतित्व तथा मानवसेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवको प्रमुख आतिथ्यमा आयोजित समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि देवेश मानवले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा अभिभावक, शिक्षक–शिक्षिका तथा समाजको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले अतिरिक्त क्रियाकलापहरूले बालबालिकाको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै शान्त, सुरक्षित र प्रेरणादायी वातावरणमा हुर्किएका बालबालिकाले आफ्नो लक्ष्य हासिल गर्न सक्ने धारणा व्यक्त गरे ।

उनले समाजमा सकारात्मक परिवर्तन आएमा बालबालिकाको भविष्य अझ उज्ज्वल बन्ने बताउँदै गुणस्तरीय शिक्षा र उचित संस्कारले उनीहरूलाई सफल जीवनतर्फ अग्रसर गराउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै आदर्श स्कुलका सञ्चालक हरिरत्न तुलाधरले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरूमा विशेष ध्यान दिँदै आएको जानकारी दिए । उनले विद्यार्थीहरूलाई सक्षम, आत्मविश्वासी तथा नेतृत्वदायी भूमिकामा स्थापित गर्ने उद्देश्यका साथ विद्यालय अघि बढिरहेको बताउँदै अभिभावकहरूलाई पनि आवश्यक सहयोग गर्न आग्रह गरे ।

दीक्षान्त समारोहका अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । प्रस्तुत सांस्कृतिक कार्यक्रमहरूले उपस्थित अभिभावक तथा अतिथिहरूको मन जित्न सफल भएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको सहजीकरण शिक्षिकाहरू सिम्रन गुप्ता र पूजा गुप्ता तथा विद्यार्थीहरू सजिया, प्रवीण र अनुज मिश्रले संयुक्त रूपमा गरेका थिए ।

उत्साहपूर्ण वातावरणमा सम्पन्न दीक्षान्त समारोहले मन्टेश्वरी तह पूरा गरेका विद्यार्थीहरूको शैक्षिक यात्राको महत्त्वपूर्ण उपलब्धिलाई औपचारिक रूपमा उत्सवका रूपमा मनाएको विद्यालयले जनाएको छ ।

Back to top