×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–८ पानीटंकीस्थित लिटिल बडी प्रि-स्कुलले जनजाति कल्याण आश्रम नेपाल पर्सामा रहेका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालयका प्रधानाध्यापक विजय बलको नेतृत्वमा गएको टोलीले आश्रममा रहेका बालबालिकाको अध्ययनमा सहयोग पुग्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको हो । प्रिन्सिपल बलले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा माउन्ट मकालु बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा प्याप्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवले आश्रमका बालबालिकाले निजी विद्यालयमा अध्ययन गर्न चाहेमा निःशुल्क शिक्षाको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो विद्यालयमा समेत इच्छुक विद्यार्थीलाई बिना शुल्क अध्ययनको अवसर प्रदान गर्ने घोषणा गर्दै प्याप्सनमा आबद्ध ६० वटा विद्यालयमार्फत आवश्यक सहजीकरण गरिने बताए ।

त्यसैगरी, इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, पत्रकार जगत् राईलगायतले आश्रमका बालबालिकालाई निजी विद्यालयमा अध्ययनका लागि आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनीहरूले विद्यार्थीहरूलाई स्पष्ट लक्ष्य निर्धारण गरी लगनशीलतापूर्वक अध्ययन गर्न सुझाव दिएका थिए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा जनजाति कल्याण आश्रम पर्सा–वीरगञ्जका सहर छात्रावास प्रमुख दिनेश प्रताप पासवान, राष्ट्रिय छात्रावास प्रमुख महेश्वर हाँस्दा, सह–कोषाध्यक्ष गणेश अग्रवाल, लिटिल बडी प्रि-स्कुलका शिक्षिकाहरू खुसी श्रेष्ठ, शोभा शाह, दीपा राई, श्वेता गुप्ता, सिसान चौधरी तथा पत्रकार दिपु वर्णवाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले शिक्षा नै बालबालिकाको भविष्य निर्माणको प्रमुख आधार भएको उल्लेख गर्दै यस्ता सामाजिक तथा शैक्षिक सहयोगमूलक कार्यक्रमले विपन्न तथा आश्रित बालबालिकाको अध्ययनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Back to top