×

वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल देशलाई पूर्ण रूपमा विद्युतीय युगमा लैजान सकिने अवस्था नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालको विद्युत् पूर्वाधारले देशव्यापी रूपमा विद्युतीय चुल्हो र इन्डक्सन प्रयोगको भार धान्न नसक्ने बताए ।

प्रधानमन्त्री शाहका अनुसार अहिले नै देशभर विद्युतीय चुल्हो प्रयोग गर्न थालिए ट्रान्सफर्मर र सब–स्टेसनले भार थाम्न नसक्ने अवस्था आउन सक्छ । “अहिले तुरुन्तै हामीले देशलाई विद्युतीय युगमा लैजान सक्ने अवस्था छैन । अहिले नै विद्युतीय चुल्हो र इन्डक्सनमा खाना पकाउने हो भने देशभरका ट्रान्सफर्मर र सब–स्टेसन पड्किन्छन् । हाम्रो क्षमताले धान्ने अवस्था छैन,” उनले भने ।

उनले नेपाल विद्युत् प्राधिकरणको क्षमता अभिवृद्धि गर्न ठूलो लगानी आवश्यक रहेको उल्लेख गरे । ट्रान्सफर्मर अपग्रेड गर्ने, सब–स्टेसन सुदृढ गर्ने तथा बिजुलीका तारको मोटाइ बढाउने काम तत्काल गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमार्फत लगाइएको ५ प्रतिशत भ्याट विद्युत् प्रणाली सुदृढीकरणकै लागि भएको दाबी गरे । “यो ५ प्रतिशत कर ठूलो रकम होइन। देशभरका ट्रान्सफर्मर अपग्रेड गर्नुपर्नेछ, तारको मोटाइ बढाउनुपर्नेछ । त्यसपछि मात्र हामी देशलाई विद्युतीय युगमा लैजान सक्छौँ,” उनले भने । भ्याटबाट उठेको रकम अन्यत्र नजाने र विद्युत् पूर्वाधार बलियो बनाउनमै खर्च हुने उनले स्पष्ट पारे ।

सरकारले दीर्घकालीन रूपमा विद्युतीय ऊर्जा प्रयोग विस्तार गर्ने लक्ष्य राखे पनि तत्काल पूर्वाधार सुदृढीकरण प्राथमिकतामा राख्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ छ ।

Back to top